विद्यालय एक नाट्यशाला: विद्यार्थी, शिक्षक र अभिभावक प्रमुख पात्र

शिवराम पौडेल ।

विद्यालय के हो ? उत्तर भिन्न भिन्न आउलान् । अभिभावकका लागि विद्यालय सन्तान ज्ञान, अशल, सफल, व्यवहारिक र सभ्य बनाउने थलो होला । शिक्षकका लागि विद्यालय ज्ञान, सीप, व्यवहार, नैनतकता, आदि सिकाउने थलो होला । विद्यार्थीको लागि विद्यालय एउटा यस्तो थलो होला जहाँ आफुले आफुलाइ चिन्न सहयोग गरिरहन्छ । विद्यालय समाजको लागि संस्कार को निरन्तरता र सभ्यताको विकासमा हातेमालो गर्ने थलो होला । विद्यालय राष्ट्रको लागि एउटा यस्तो ठाउँ होला जसबाट राष्ट्रभक्त, कर्तव्यनिष्ठ कर्णधार जन्मिन्छन् ।
तर यस्तो त खाली विचारमा हुन्छ, दर्शनमा हुन्छ, नीति नियममा हुन्छ। व्यवहारमा चाँही हुँदैन । वास्तवमा विद्यालयमा नाटक देखाइन्छ । धेरै पात्रहरुले यसमा अभिनय गर्दछन् । जसमा निर्देशक र निर्माता पनि हुन्छन् । वास्तवमा विद्यार्थी वफादार सिकारु पात्रको रुपमा हुन्छन् । शिक्षक जागिरे पात्र र विद्यालय जागिर खाने थलोका रुपमा । अभिभावकको चाँही माथिका सवै पात्रको सहयोगिको भूमिका हुन्छ र अभिभावकको लागि विद्यालय छोराछोरीको बोझ घटाउने उपायको रुपमा पनि प्रकट भइदिन्छ ।
विद्यालयको भूमिका विद्यालयको आम्दानीको स्रोतको रुपमा । पाठ्यक्रम, पाठ्यपुस्तक र शैक्षिक पद्दतीहरु चाँही निर्देशकको भूमिका निर्वाह गर्दछन् । यसरी शिक्षारुपी नाटक विद्यालयमा मञ्चन गरिन्छ । त्यहाँ सवैले आफ्नो भूमिका प्रत्येक्ष वा परोक्ष रुपमा निर्वाह गरेका हुन्छन् । शिक्षक शिक्षण सिकाई क्रियाकलापको एक अभिन्न अंग हो भने नाटकको प्रमुख पात्र । शिक्षकको नाटक तव शुरु हुन्छ जव उ पढाउन थाल्छ । न कि पढ्न सिकाउन । निश्चित पाठ्यक्रम, निश्चित पाठ्यसामग्री, निश्चित समय, निश्चित ठाउँ, निश्चित विद्यार्थी । यस्तै घेराभित्र रहँदा शिक्षक साँच्चिकै निश्चितमै रुमलिन्छ । शिक्षकको सोचाई,ज्ञान, सिर्जना, क्षमता आदी निश्चित बन्न पुग्छ । शिक्षकलाई निश्चितताको घेरामा थुन्ने काममा विद्यालय, संस्कृतिले पनि ठुलो योगदान पुर्‍याइरहेको हुन्छ । सवै कुराले निश्चित र निर्देशित भइसकेपछि उ निश्चित कक्षा कोठामा छिर्छ, कक्षा कोठामा विद्यार्थी निश्चित गृहकार्यसहित निश्चित मनस्थिति लिएर शिक्षकलाई निश्चित शव्दले अभिवादन गर्दछन् । शिक्षक निश्चित विद्यार्थीलाई ध्यानमा राखि आजको ज्ञान भगवानको प्रसाद सम्झी बाँड्न थाल्छन् ।
तर शिक्षकलाई यो ख्याल हुँदैन कि, निश्चित विद्यार्थी मात्र भगवान प्रती आस्थावान छन् । बाँकी विद्यार्थी जो नास्तिक छन् अथवा अर्कै भगवान मन पराउछन् उनीहरुलाई त्यो प्रसाद ग्रहण गर्न असजिलो र हम्य पर्छ । यी सवै कुराको ख्याल नगरी ज्ञान बाँड्ने क्रम चलिरहन्छ जवसम्म निश्चित समय पूरा हुँदैन ।के शिक्षकलाई निश्चित नियमले बाँध्न हुन्छ ? उसलाई स्वतन्त्रता छैन ? जसरी विद्यार्थीलाई स्वतन्त्र छोडेर इच्छा अनुरुप सिकाउँदा राम्रो सँग सिक्न सक्छन्, के शिक्षकमा यो लागू हुँदैन ? शिक्षकले कितावभन्दा अरु केही सिकाउन सक्दैन । किनभने उ किताव र पाठ्यक्रमबाट बाँधिएको हुन्छ ।
तर कितावमा नलेखिएका धेरै कुरा अति नै महत्वपूर्ण हुन्छन् । नाटकमा निर्देशकले जसो गर भन्यो त्यसै गर्नुपर्ने हुन्छ । त्यसैले शिक्षकले आफूलाई निर्देशकअनुरुप विद्यार्थीलाई निर्देशित गर्दछ । कलाकारलाई यो पत्तो समेत हुँदैन कि उसलाई प्रदर्शन गर्न लगाइएको कला भन्दा आफ्नो क्षमता अव्वल छ । जस्तो कि कस्तुरी आफ्नो सुगन्ध थाह नपाएर जीवनभर त्यसकै खोजीमा भौतारिन्छ । विचरा कस्तुरीलाई यो कुरा कस्ले भनिदिने ? शिक्षकको काम हो, उक्त सुगन्ध चिनाउनु । जव यसरी शिक्षकले विद्यार्थीको क्षमता र मनोबिज्ञान नबुझी रटान लगाउन शुरु गर्छ तव यस्तो नाट्कको सुरुवात हुन्छ ।
असल शिक्षकले विद्यार्थीलाई चिन्नुपर्दछ । चिन्नु भन्नाले नाम र अनुहार सम्झनु मात्र होइन, उसको पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था मात्रै नभएर मनस्थिति क्षमता र रुची आदिको बारेमा जान्नु हो । तव मात्र सिकाई अर्थपूर्ण बनाउन सकिन्छ । शिक्षकका अगाडी शिक्षण विधिहरुको चाँङ लगाएर यसकै प्रयोग गरेर शिक्षण गर भन्नु झन महानाटक नै हो । विदेशीले बनाईदिएको विधिको भरमा हाम्रो शिक्षण क्रियाकलाप सञ्चालन गरिनु कत्तिको व्यवहारिक र औचित्यपूर्ण हुन्छ ? शिक्षकलाई आफु सुहाउँदो विधीको निर्माण गरी व्यवहारमा उतार्ने सीप सिकाउँदा वाञ्छनिय होला । शिक्षकले विभिन्न खालका अनुसन्धान गर्ने वानीको विकास गराउन जरुरी हुन्छ । अनुसन्धानले शिक्षण सिकाइका समस्या समधान गरी सही बाटोमा डोहोर्‍याउन प्रभावकारी भूमिका निर्वाह गर्दछ ।
विद्यार्थीले पनि नाट्क बन्द गर्नुपर्दछ । देखाउने सिकाइ नभएरु सिक्नका लागि लागि सिकाई सिकाई हुनुपर्दछ । सिकाइलाई जीवन दिनुपर्दछ । वास्तवमा सिकाई नै जीवन हो । तर सिकाइमा जीवन्तता भेटिँदैन अचेल । विद्यार्थीले आफ्नो खुवी चिन्न तर्फ लाग्नु पर्दछ र सोहीअनुरुप काम गर्नुपर्दछ । विद्यार्थीले स्वतन्त्र रुपमा आफ्नै शैलीमा रमाइ-रमाइ सिक्नुपर्दछ ।सन्तानलाई विद्यालयमा भर्ना गरिदिएरमात्र पनि अभिभावकको दायित्व पुरा हुँदैन । अभिभावकको पनि उत्तिकै जिम्मेवारी रहन्छ । सन्तान कुन विद्यालयमा पढ्छन् भन्ने भन्दा पनि के पढ्छन्, विद्यालय गएर आए भन्ने भन्दा पनि के सिकेर आए भन्ने कुराको ख्याल राख्नुपर्दछ अभिभावकले ।
साथै सन्तानको सिकाइमा सहजीकण गर्नुपर्दछ । विद्यालय व्यवसायिक हुन सवैभन्दा ठूलो नाटक हो । विद्यालयले सेवा भाव राखी विद्यार्थी मैत्री, विभेद रहित र वर्तमान आवश्यकता सुहाउँदो शिक्षा दिनुपर्छ । यसले समाजको आवश्यकता सम्वोधन गर्न सक्नुपर्छ । विद्यालयमा कितावभन्दा धेरै समाज पढाउन जरुरी छ । विगत र वर्तमान समाज बुझेको साथै भविश्यको मार्गदर्शक व्यक्ती विद्यालयको उत्पादन हुनुपर्छ । यसरी विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक मिलेर विद्यालयलाई नाट्यशाला नभई सिक्ने र सिकाउने थलो (जसमा जीवन जीउने कला सिकाइन्छ, कर्तव्यबोध गराइन्छ, अनुशासन, संकार, मानवियय मूल्य मान्यता, सभ्यता आदि सिकाइन्छ) बनाउनु आवश्यक छ । समग्रमा भन्दा विद्यालयमा विद्यार्थी झिकाउने, सिकाउने, टिकाउने र विश्वबजारमा बिकाउने खालको हुनुपर्छ ।
नोट: विद्यालय नाट्यशाला हुँदैनन् र सवै शिक्षक, विद्यार्थी र अभििावक नाटक गर्दैनन् ।

शिवराम पौडेलको घर पर्बत हो र उहाँ हाल कास्कीको पोखरामा अध्यापन गर्नुहुन्छ ।