सातै प्रदेशले आज वजेट सार्वजनिक गर्दै

काठमाण्डौँ, १ असार (जागरण) । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि वजेट र योजना सार्वजनिक गर्दैछन् ।
नेपालको संविधान २०७२ अनुसार प्रत्येक असार १ गते आगामी वर्षको वजेट वक्तव्य सार्वजनिक गर्ने व्यवस्था अनुरुप आज प्रदेश सरकारहरुले वजेट सार्वजनिक गर्ने भएका हुन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले आफ्ना आफ्ना प्रदेशका प्रदेशसभा वैठकमा वजेट सार्वजनिक गर्नेछन् ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला। प्रदेश नम्वर १ का इन्द्रबहादुर आङ्बो, २ नम्वरका विजयकुमार यादव, ३ नम्वरका कैलाश प्रसाद ढुङ्गेल, ४ नम्वरका किरण गुरुङ, ७ नम्वरका झपटबहादुर बोहोरा र आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएका ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वजेटको तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

कर्णालीः

आज दिउँसो तीन बजे बस्ने कर्णाली प्रदेशसभा बैठकमा मन्त्री ज्वालाले वजेट र योजना प्रस्तुत गर्नुहुनेछ । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।
संघीय सरकारबाट प्राप्त सिलिङ्गअनुसार प्रदेश सरकारले बजेटको तयारी गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार संघीय सरकारबाट विभिन्न शीर्षकमा प्रदेशले अनुदान प्राप्त गरेको छ ।
जसमा समानिकरण अनुदानतर्फ नौ अर्ब ८४ करोड ८३ लाख, राजश्व बाँडफाँडमा सात अर्ब ४४ करोड ४३ लाख र सशर्त अनुदानमा पाँच अर्ब २७ करोड उपलब्ध भएको छ । यसबाहेक चालु आर्थिक वर्षमा खर्च हुन नसकेको करिव आठ अर्ब र प्रदेशको आन्तरिक स्रोतलाई मिलाएर बजेट ल्याउने तयारी छ ।
चालु आर्थिक वर्षमा घाटा बजेटसमेत ल्याएको प्रदेश सरकारले यसपाली भने घाटा बजेट नल्याउने भएको छ । कर्णाली प्रदेशसभाबाट सार्वजनिक हुने वजेट वक्तव्य जागरण एफ. एम. सुर्खेतसहित कर्णाली प्रदेशका सामुदायिक रेडियोहरुले प्रत्येक्ष प्रशारण गर्नेछन् ।