कर्णालीमा बढ्दो सम्वन्ध विच्छेद

प्रभा रावत ।
सुर्खेत, २ असार (जागरण) । कर्णाली प्रदेशमा सम्बन्ध विच्छेद गर्नेको सख्यामा वृद्धी भएको छ । प्रदेशका १० वटा जिल्ला मध्ये सुर्खेतमा यसको सख्या बढी पाइएको छ । सबै भन्दा कम जाजरकोटमा छ ।
कर्णाली प्रदेशका १० वटा जिल्ला अदालतहरुको तथ्याङ्क हेर्दा हरेका जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेद गर्नेको सख्या बढी छ । गत भदौदेखि नयाँ मुलकी ऐन लागु भएसँगै पुरुषले पनि सम्बन्ध विच्छेदका लागी अदालतमा निवेदन दिन थालेका छन् ।


सुर्खेतमा गत आर्थिक वर्षमा ४ सय १ वटा मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहँदा तीन सय ९१ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । गत वर्षको फैसला गर्न बाँकी र चालु आर्थिक वर्षको गरी तीन सय चार वटा मुद्दा फैसला भएका छन् भने १ सय ८५ मुद्दा फैसला गर्न बाँकी नै छन् ।
दैलेखमा गत आर्थिक वर्षमा जम्मा ८० वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ७८ वटा महिलाबाट दर्ता भएका थिए भने २ वटा पुरुषबाट दर्ता भएका थिए । ८० मध्ये ६४ वटा फैसला भइसकेका थिए भने यो आर्थिक वर्षमा एक सय २५ वटा मद्दा दर्ता भएका छन् । दैलेखमा ६४ वटा पुरुषबाट र ७९ वटा मुद्दा महिलाबाट परेका छन् । ७५ वटा फैसला भइसकेका छन् भने ५० वटा मुद्दा बाँकी छन् ।
यस्तै जाजरकोटमा गत आर्थिक वर्षमा एउटामात्र मुद्दा दर्ता भएको थियो भने यो आर्थिक वर्षमा ५ वटा मुद्दा दर्ता भएका छन् । जसमा २ वटा मुद्दाको फैसला भइसकेका छ भने तीनवटा बाकी नै छन् । जाजरकोटमा महिलाले तीन वटा र पुरुषबाट २ वटा मुद्दा दर्ता भएका छन् ।
जुम्लामा गत आर्थिक वर्षमा २९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जुम्लामा २६ वटा मुद्दा गतवर्ष नै फैशला भइसकेका थिए भने चालु आर्थिक वर्षमा महिलाले १७ पुरुषले ५ वटा मद्दा दर्ता गरेका छन् । जम्मा मुद्दा मध्ये ८ वटा मुद्दा फैशला भइसकेका छन् भने ९ वटा मुद्दा फैशला हुन बाँकी छन् ।
हुम्लामा गत आर्थिक वर्षमा ११ वटा मुद्दा महिलाका तर्फबाट दर्ता भएकोमा चालु आर्थिक वर्षमा ११ वटा मुद्दा दर्ता भएका छन् । जसमा ८ वटा मुद्दा महिलाका तर्फबाट दर्ता भएका छन् भने २ वटा पुरुषका तर्फबाट दर्ता भएका छन् । हुम्लामा ६ वटा मुद्दा फैसला भइसकेका छन् भने २ वटा बाँकी छन् ।
मुगुमा गत आर्थिक वर्षमा १६ वटा मुद्दा दर्ता भएका थिए । सबै मुद्दा गत आर्थिक वर्षमा फैसला भइसकेका थिए भने यो आर्थिक वर्षमा मुगुमा १५ वटा मुद्दा दर्ता भएका छन् । अहिलेसम्म १० वटा फैसला भइसकेका छन् भने पाँच वटा मुद्दा फैसला गर्न बाँकी छन् । मुगुमा १२ मुद्दा महिलाले र तीनवटा पुरुषले दर्ता गरेका छन् ।
रुकुम पश्चिममा गत आर्थिक वर्षमा एक सय ९१ मुद्दा दर्ता भएकोमा यो आर्थिक वर्षको वैशाख सम्ममा एक सय ३९ मुद्दा दर्ता भएका छन् । जसमध्ये २८ वटा मुद्दा पुरुषले दर्ता गरेका छन् भने बाँकी महिलाले दर्ता गरेका छन् ।
कालिकोटमा गत आर्थिक वर्षमा २८ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षमा बढेर ४७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमा ३३ वटा मुद्दा महिलाले भने १४ वटा मुद्दा पुरुषले दर्ता गराएका छन् ।
गत आर्थिक वर्षमा १ सय ३८ वटा सम्बन्ध विच्छेदका मुद्दा परेकोमा सल्यानमा चालु आर्थिक वर्षको जेठ दोस्रो हप्ता सम्म १ सय ७५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमा ९१ वटा फैसला भएका छन् । महिलाले १ सय २१ वटा मुद्दा दर्ता गरेका छन् भने पुरुषले ५४ वटा मुद्दा दर्ता गरेका छन् ।
यस्तै डोल्पामा गत आर्थिक वर्षमा चार वटा मुद्दा भएकोमा चालु आर्थिक वर्षको जेठ तेस्रो साता सम्म ९ वटा मुद्दा दर्ता भएका छन् । जसमा महिलाले ८ वटा मुद्दा दर्ता गरेका छन् भने पुरुषबाट भने एउटा मुद्दा दर्ता भएका छन् । ७ वटा मुद्दा फैसला गर्न बाँकी नै छन् ।
अदालतमा पुग्ने गरेका कुनै मुद्दा दुबै पक्षको सहमतीमा हुने गरेको छ भने कुनै एकल निर्णयमा पनि मुद्दा आउने गरेका छन् । एकल निर्णयले आउने गरेका मुद्दाका लागी अदालतले केही समय पर्खाउने गरेको छ । दुवै पक्षबाट पुर्ण रुपमा सहमती भएपछी मात्र सम्बन्ध विच्छेद हुने गरेका छन् । कतिपय एकल निर्णले आउने गरेका मुद्दालाई छिनोफानो गर्न समय लाग्ने भएकाले पनि अदालतमा पुग्ने गरेका केही मुद्दा फैसलामा ढिलाई हुने गरेको छ ।

सम्बन्ध विच्छेदका घटना किन बढे ?

नेपालमा वेरोजगारको सख्या बढी छ । नेपालीका लागी भारत तथा वैदेशिक रोजगारी पहिलो प्राथमिकतामा परेको छ । नेपालमा कुनै सम्भावना नदेखी युवाहरु वेदेशिने क्रम बढेसँगै परिवारमा वेमेलको अवस्था सिर्जना हुने र एकअर्का प्रतिको विश्वासमा कमी आउने भएकै कारण पनि सम्बन्ध विच्छेदका घटना बढेको पाइएको हो ।
सानो उमेरमा विवाह गर्नाले पनि सम्बन्ध विच्छेदका घटना बढेका छन् । सामाजिक सञ्जालको दुरुपयोग, अनमेल विवाहका कारण पनि सम्बन्ध विच्छेदका घटनामा बृद्धी हुने गरेको छ ।