सुर्खेत, ३ असार (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा उद्यमशिलताका लागि आजदेखि कर्णाली सम्मेलन हुने भएको छ ।
स्थानिय तहमै उद्यमशिलता प्रवद्र्धन गर्ने नीति कार्यन्वयनका लागि आज र भोली कर्णाली सम्मेलन हुने भएको हो । स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा अन्य सरोकारवालाहरुको सहभागिता हुने सम्मेलनको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुहुनेछ ।
रोजगारका विषयगत क्षेत्रहरु पहिचान गर्दै स्थानिय तहदेखि रोजगारी प्रवद्र्धनका उपायहरु यकिन गरी त्यसअनुसार नीति, योजना तथा कार्यक्रम तय गर्न कर्णाली सम्मेलन गर्न लागिएको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखा प्रमुख रेश्मा विसीले बताउनुभयो ।
उहाँकाअनुसार अर्गानिक प्रदेश बनाउनका लागि हरित उत्पादन हरित रोजगारका लागि हरित लगानी बढाउने वातावरण र समृद्ध कर्णाली बनाउनका लागि प्रदेश तथा स्थानिय तहको साझेदारी एवम् सहकार्य गर्ने क्षेत्र पहिचानसमेत सम्मेलनले गर्नेछ ।
सम्मेलनमा प्रदेशमा रोजगारीको अवस्था, अवसर र चुनौती, समृद्ध कर्णाली निर्माणका आधारहरु, स्थानिय तहमा रोजगारी सृजनाका आधार र अवसरहरु, समृद्धिका लागि महिला सहभागिता, उत्पादनमा महिलामूखी योजना तर्जुमा तथा समावेशी लोकतन्त्रमा महिला प्रतिनिधित्वका विषयमा छलफल हुनेछन् ।