कर्णाली सम्मेलनले साझा प्रतिवद्धता जारी गर्ने

सुर्खेत, ३ असार (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा उद्यमशिलताका लागि कर्णाली सम्मेलन शुरु भएको छ । स्थानिय तहमै उद्यमशिलता प्रवद्र्धन गर्ने नीति कार्यन्वयनका लागि आजदेखि शुरु भएको कर्णाली सम्मेलन भोली सम्म चल्ने छ ।
स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा अन्य सरोकारवालाहरुको सहभागिता भएको सम्मेलनले कर्णाली प्रदेशभरको साझा प्रतिवद्धता जारी गर्ने कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रमप्रति सम्मान गर्ने वातावरण बने रोजगारी सिर्जना हुने र रोजगारी भए गरिवी अन्त्य भई समृद्धी प्राप्त हुने बताउनुभएको छ ।


कामको आधारमा सानो र ठूलो व्यक्ति भनि विभेद हुँदा समस्या हुने गरेको भन्दै शाहीले कर्णाली सरकारले श्रमप्रति सम्मान गर्ने वातावरण बनाउने बताउनुभयो ।
सम्मेलनमा रोजगारका विषयगत क्षेत्रहरु पहिचान गर्दै स्थानिय तहदेखि रोजगारी प्रवद्र्धनका उपायहरु यकिन गरी त्यसअनुसार नीति, योजना तथा कार्यक्रम तय गरिनेछ ।
अर्गानिक प्रदेश बनाउनका लागि हरित उत्पादन हरित रोजगारका लागि हरित लगानी बढाउने वातावरण र समृद्ध कर्णाली बनाउनका लागि प्रदेश तथा स्थानिय तहको साझेदारी एवम् सहकार्य गर्ने क्षेत्र पहिचानसमेत सम्मेलनले गर्नेछ ।
सम्मेलनमा प्रदेशमा रोजगारीको अवस्था, अवसर र चुनौती, समृद्ध कर्णाली निर्माणका आधारहरु, स्थानिय तहमा रोजगारी सृजनाका आधार र अवसरहरु, समृद्धिका लागि महिला सहभागिता, उत्पादनमा महिलामूखी योजना तर्जुमा तथा समावेशी लोकतन्त्रमा महिला प्रतिनिधित्वका विषयमा पनि छलफल हुनेछ ।