टेकराज केसी ।
दैलेख, १६ वैशाख (जागरण) । पछिल्लो समय नागरिकहरु एक अर्कामा मेलमिलाप नहुँदा सामूहिक कार्य नहुने गरेका गुनासालाई चिर्दै दैलेखको गुराँस गाउँपालिकाका नागरिकहरुले सामूहिक खेतीमा जुटेका छन् । गाउँपालिकाको वडानम्वर ३ पुनाकोट र वडानम्वर ६ पिलाडिका नागरिकहरुले सामूहिक रुपमा खेती गर्न थालेका हुन् ।
सामाजिक वेमेलका साथै गाउँमै केही गर्न नसकिने र जीवन निर्वाह गर्न वैदेशिक रोजगारी नै प्रमुख गन्तव्य रहेको भन्ने सोचलाई गलत सावित गर्दै नागरिकहरु सामूहिक खेतीतर्फ आकर्षितसमेत भएका छन् ।
पुनाकोटमाः
वडा नम्बर ३ पुनाकोटका ५२ घर संयुक्त रुपमा अलैची, सुन्तला, कागतीलगायतका विरुवा ३० रोपनी जमिनमा रोप्न शुरु गरिएको छ । जग्गा तयारीको काम सकिएको र केही दिनमा सबै खाडल खन्ने काम सकिने स्थानिय नागरिकले बताएका छन् ।
उनीहरुकाअनुसार आफ्नै श्रमदानमा अहिले खाडल खन्ने काम भइरहेको छ र अव विरुवा गाउँपालिकाको कार्यालयसँग माग गरिनेछ । सामुहिक व्यवसायिक खेतीका लागि समिती समेत गठन गरिएको छ । जसको अध्यक्षमा स्थानिय जयकला शाही रहनुभएको छ ।
सामुहिक खेतीपछि आगामी ५ वर्षभित्र प्रत्येक एक सिजनमा एक करोड रुपैयाँ बराबरको आम्दानीको लक्ष्य राखिएको अध्यक्ष शाहिले जानकारी दिनुभयो ।
अव पिलाडिः
यता, गुराँस गाउँपालिका ६ पिलाडिमा पनि सामुहिक व्यवसायिक खेती गर्ने कार्यका लागि खाडल खन्ने काम शुरु भएको छ । वडा कार्यलयको पहलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वगौडा र त्रिकुले सामुदायिक वन उपभोक्ता समितिको समन्वय, गाँउपालिकाको आर्थिक साझेदारी तथा स्थानिय नागरिकको सक्रियतामा सामुहिक खेती गर्ने काम शुरु भएको हो ।
त्रिकुले सामुदायिक वन भित्रको क्षेत्रमा गर्न लागिएको व्यवसायिक सामुहिक खेती अन्तरगत ५० हजार अलैची, ५ हजार टिमुर १५ हजार अम्लिसो ५ सय बिरुवा ओखर र एक सय बाँसका बिरुवा लगाइन लागिएको वडा नम्बर ६ का अध्यक्ष हिमबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार यसको अनुमानित रकम ४० लाख हुनेछ । जसमा वडाको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानी रहने छ । अध्यक्ष ओलीले दिएको जानकारी अनुसार २० प्रतिशत शेयर र ३० प्रतिशत अनुदान हुने छ भने बाँकी सामुदायिक विद्यालय र सामुदायिक वन समितिको १०/१० प्रतिशत लगानी रहने छ । बाँकी ६० प्रतिशत स्थानियको श्रमदान रहने बताइएको छ ।
यसको नाफा वितरण पनि शेयरकै आधारमा गरिने भन्दै अध्यक्ष ओलीले यसमा शेयर लिएर नैतिक र सामाजिक सहयोगको लागि अनुरोधसमेत गर्नुभएको छ ।
उहाँले यो स्वरोजगारमुखी व्यवसायमा साथ दिन आग्रह गर्दै भने, ‘हामी विश्वास दिलाउन चाहान्छौ, तपाईको लगानीको सुरक्षाको ग्यारेन्टी हुन्छ ।’
यता, गाउँपालिकाले गाउँपालिकाभरका वेरोजगार युवाहरुलाई स्वरोजगार हुन आग्रह गर्दै व्यक्तीगत, समुहगत र सहकार्यमा आधुनिक र व्यवसायमुखि खेती गर्न आग्रह गर्दै आएको छ ।
जसको लागि नितिगत रुपमा व्यवसाय गर्ने ग्यारेन्टी भएकालाई अनुदानको व्यवस्था समेत गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो ।
उहाँले आगामी ५ बर्षभित्र कृषि क्षेत्रको उत्पादन बढाएर अम्दानीको पहिलो श्रोत बनाइनेगरी कानुन तयार गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष ओलीका अनुसार व्यक्तीगत रुपमा व्यवसायिक खेती गर्न युवाहरुलाई प्रेरित गरिएको र सामुहिक रुपमा पनि खेती गर्न पुनाकोट र पिलाडीबाट शुरु गरिएको जानकारी दिनुभयो ।
प्रत्येक विद्यालय र सहकारीहरुलाई पनि उत्पादन क्षेत्रमा लाग्न सुझाव दिदै उहाँले अव कृषिमा आत्मनिर्भर भई बेरोजगारी र गरिबी हटाउन सबै एक भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रको सुधारका लागि भन्दै आर्थिक वर्ष २०७४÷०७५ का लागि १ करोड १० लाख रकम विनियोजित गरेको छ ।