आहा कर्णालीः पर्यटकका लागि पहुँच मार्ग पर्खिँदै बराहताल (अडियो सहित)

अप्सरा विष्ट ।
सुर्खेत, ४ असार (जागरण) । पर्यटकिय क्षेत्रको रुपमा रहेको तालको नामबाट नै सुर्खेतमा गाउँपालिकाको नाम राखिएको छ, त्यो हो बराहताल । पहिलाको तरङ्गा गाविस र हाल बराहताल गाउँपालिका वडानम्वर ४ मा रहेको पर्यटकिय क्षेत्र बराहताल भौगोलिक विकटता, प्रचारप्रसार अभाव र संरक्षण नहुँदा ओझेलमा पर्न थालेको छ ।
बराहताल अहिले दिनानुदिन पुरिदै भासिन थालेको छ । तालको प्रसारप्रसार संरक्षण, एवम् सम्वद्र्धन हुन नसक्दा यसको अस्थित्व लोप हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ । भौगोलिक विकटताको कारण सरकारवालाको आँखामा यो ताल पर्न सकेको छैन । बराहताल सँगसँगै रहेको खहरे खोलाले दुई भागमा विभाजित बनाउदै लगेकाले यसको भविष्यमा प्रश्न चिन्ह लागेको छ ।


पुर्वपश्चिम भएर फैलिएको यो ताल पश्चिमतर्फ चौडा र पुर्वतर्फ केही खुम्चीएको छ । घनाजङ्गलको बीचमा १६ विगाह क्षेत्रफलमा फैलिएको यो ताल क्षेत्रमा स्थानिय भाषामा बहा भनिने बँदेल जातको जनावर पाइने भएकाले यस तालको नाम बराहताल भनिएको स्थानिय समाजसेवी ओमबहादुर महतराले बताउनुभयो ।
धार्मिक हिसावले पनि पनि यो तालको महत्व रहेको छ । तालको छेउमा रहेको बराह देवताको पुजाआर्चना गरिनुका साथै प्रत्येक वर्ष वैशाख १ गतेका दिन त्यहाँ मेला लाग्ने गरेको छ ।
जलकुम्भी, कमल जस्ता जातका बनस्पतीका साथै विभिन्न बन्य जन्तु र पशुपंछिको आवाजले बराहताल क्षेत्रलाई अझै रमणिय बनाएको छ । यसबाहेक यो तालमा प्वाँख नभएका चराले तालमा खसेका पातपत्तिङ्गर टिपेर बाहिर फ्याँक्ने अच्चमको दृश्य देख्न पाइन्छ । बराहताल गाउँपालिकाले सुन्दर ताल बराहतालमा आन्तरिक र बाह्य पर्यटक भित्र्याई त्यहीँ केही समय भुल्ने र रमाउने बनाउनका लागि सुरक्षित बाटो, बाह्रै महिना हरियाली, होमस्टे, वनभोज स्थल र पर्यटन पार्क बनाउने तयारी गरेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत ।
सम्भावना नै सम्भावना बोकेको बराहताल सम्म पर्यटक पुग्ने सहज बाटो निर्माणका साथै आवश्यक सुरक्षा प्रवन्ध गरेमा साँच्चिकै बराहतालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिनेमा दुई मत छैन ।

सुन्नुहोस् अडियोः