सुर्खेत, १६ वैशाख (जागरण) । दुई दिनको वृहत छलफलपछि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम तीन महिनाको लागि ल्याएको बजेट संसदबाट सर्वसम्मत पारित भएको छ । गत विहीबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा आर्थिक वर्ष २०७४/०७५ को अन्तिम तीन महिनाको वजेट प्रस्तुत गर्नुभएको थियो ।
सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विनियोजन विधेयक २०७५ प्रदेश सभाले आज पारित गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वलाले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिएपछि प्रदेश सभाले सर्वसम्मतिवाट विधेयक पास गरेको हो । मन्त्री ज्वालाले कर्णाली समृद्धिको पहिलो पाईलाका रुपमा बजेट ल्याइएको भन्दै केही अपुग भएको स्वीकार गर्नुभयो ।
विनियोजन विधेयकमाथि सांसदहरुले दिएको सुझाव आगामी असारमा पुर्ण बजेट ल्याउन सहयोग पुग्ने बताउनुभयो । सांसदहरुले दिएको सुझावको उचित ढंगले सम्बोधन गर्ने पनि मन्त्री ज्वालाले बताउनुभयो । मन्त्री ज्वालाले विहीबारको संसदमा एक अर्व २ करोड ५ लाख रकम प्रस्तुत गर्नुभएको थियो ।
सरकारको संञ्चित कोष लगायतमा भएको रकममा चालु वजेट तर्फ ४३ करोड ८४ लाख ३ हजार रहेको छ भने, पुँजीगत तर्फ ५८ करोड २० लाख ९७ हजार विनियोजन गरिएको छ । वजेट तथा कार्यक्रममा कर्णालीको समृद्धिका लागि ठुलाठुला महत्वाकांक्षी योजनासहित वजेट विनियोजन गरिएको छ ।
यसैगरी, आजको प्रदेश सभा वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश आकस्मीक कोष विधेयक २०७५ को मस्यौदा प्रस्तुत गर्नुभएको छ ।
आर्थिक विधेयक पारित भएलगत्तै मन्त्री ज्वालाले अर्को विधेयक टेवल गर्नुभएको हो । प्रदेश सभाको अर्को वैठक वैशाख १८ गते १ वजेका लागि तोकिएको छ ।