आफ्नो नीति, कार्यक्रम र वजेटमा केन्द्रित ल्याउँदै स्थानिय तहहरु

सुर्खेत, १० असार (जागरण) । कर्णालीका स्थानिय तहहरुले आगामी आर्थिक वर्षका लागि आज नीति, कार्यक्रम र वजेट सार्वजनिक गरिसक्ने भएका छन् ।
प्रत्येक असार १० आजका दिनभित्र नीति, कार्यक्रम र वजेट सार्वजनिक गर्नुपर्ने नेपालको संवैधानिक व्यवस्थाअनुसार भोली सवैजसो स्थानिय तहले त्यसको तयारी गरेका हुन् ।
गाउँपालिका र नगरपालिकामा आज आफ्ना आफ्नै समयअनुसार गाउँसभा र नगरसभामा उपाध्यक्ष र उपप्रमुखहरुले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् । त्यसको आधारमा आगामी आर्थिक वर्षका लागि वजेट समेत सार्वजनिक गरिनेछ ।
केही स्थानिय तहले भने गाउँसभा र नगरसभा यसअघि नै उद्घाटन गरिसकेका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिकाले हिजो एक विशेष समारोहका बीच नगरसभाको उद्घाटन गरेको छ ।
कर्णाली प्रदेशमा रहेका ७९ वटा स्थानिय तहहरुमध्ये अधिकांशले आज नै नीति तथा कार्यक्रम र वजेट सार्वजनिक गर्ने जानकारी गराइसकेका छन् ।
संघिय सरकारबाट प्राप्त भएको अनुदान र स्थानिय आर्थिक स्रोतको आधारमा वजेट र कार्यक्रमहरु तयार गर्ने चलन छ ।
नीति तथा कार्यक्रम र वजेट सार्वजनिक हुनुपूर्व प्राथमिकताका विषयमा जानकारी दिएअनुसार अधिकांश स्थानिय तहले भौतिक पूर्वाधार विकासलाई विशेष जोड दिने तयारी छ ।
स्थानिय तहका उपप्रमुख र उपाध्यक्षहरुले दिएको जानकारी अनुसार पूर्वाधार विकासभित्र पनि सडक पूर्वाधार विकास नै अधिकांशको प्राथमिकतामा पर्न थालेको छ ।
संवैधानिक व्यवस्थाअनुसार संघ सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानिय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि वजेट सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।