पंखबहादुर शाही । सुर्खेत १०, असार । (जागरण) कर्णालीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । प्रत्येक असार १० गतेभित्र नीति, कार्यक्रम र वजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज सवैजसो स्थानिय तहहरुले गाउँ तथा नगरसभा गरेका हुन् । केही स्थानिय तहहरुले यसअघि नै गाउँसभा र नगरसभा उद्घाटन गरिसकेका छन् ।
कर्णाली प्रदेशका ७९ वटै स्थानिय तहका सभामा नीति तथा कार्यक्रम र त्यसको आधारमा आगामी आर्थिक वर्षका लागि वजेट समेत सार्वजनिक गरेका छन् । संघिय सरकारबाट प्राप्त भएको अनुदान र स्थानिय आर्थिक स्रोतको आधारमा बजेट र कार्यक्रमहरु तयार गर्ने चलन छ । अधिकांश स्थानिय तहले भौतिक पूर्वाधार विकासलाई विशेष जोड दिएका छन् । संवैधानिक व्यवस्थाअनुसार संघ सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानिय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि वजेट सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।
नगरसभामा बजेट प्रस्तुत गर्न जाँदै उप–प्रमुख माेहनमाया ढकाल (भण्डारी) ।
यसैबीच, वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष ०७६/७७का लागि ४५ करोड ३ लाख १२ हजार रुपैँया बराबरको बजेट प्रस्तुत गरेको छ । मंगलबार नगरपालिकाको पाँचौ नगरसभामा कार्यपालिकाका उप–प्रमुख एवम् कार्यक्रम तर्जुमा समितिका संयोजक मोहनमाया ढकाल (भण्डारी) ले आगामी आर्थिक वर्ष २०७६/ ०७७ का लागि बजेट तथा नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनहरुमा नगर क्षेत्रको गुरुयोजना निर्माण, पानीको प्रयाप्त श्रोत, उपत्यकाको ढल निकास, एअरपोर्ट, विद्युतलगायतका क्षेत्रलाई सुधार्दै अघि लैजाने बताइएको छ ।
यस्तै उद्योग तथा व्यवसायको सिर्जना, वृद्धि विकास, शिक्षा र खेलकुद क्षेत्रको गुणस्तरीयता, लोक संस्कृतिको संरक्षण सम्वद्र्धन लगायतका जनता पक्षिय योजना अघि बढाइने नीति तथा कार्यक्रममा समावेस गरिएका छन् नगरप्रमुख देवकुमार सुवेदीको अध्यक्षतामा भएको नगरसभामा दुई वटा विधेयक समेत उप–प्रमुख मोहन माया ढकाल (भण्डारी) ले टेबुल गर्नुभएको छ । नगर प्रमुख सुवेदीले सभा असार १५ गते दिउँसो १ बजे सम्मका लागि सभा स्थगित गर्नुभएको छ । बराहताल गाँउपालिकाले ४० करोड १५ लाख बजेट बरावरको बजेट गाउँसभामार्फत प्रस्तुत गरेको छ ।
दैलेखमाः
महावु गाउँपालिकाले पाचौं गाउँसभा अन्तरर्गत आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी बुढाले आर्थिक वर्ष ०७६/०७७ का लागि ३४ करोड ३८ लाख २१ हजार ५ सय ९८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका विभिन्न जनता पक्षिय योजनाहरु नीति तथा कार्यक्रममा समावेस गरीएको गाउँपालिकाले जनाएको छ । यस्तै दुल्लु , चामुण्डाबिन्द्रासैनी नगरपालिका र नारायण नगरपालिकाले नगरसभा मार्फत बजेट प्रस्तुत गरेका छन । यस्तै, भैरवी गाउँपालिकाले ३३ करोड १२ लाख २१ हजारको बजेट प्रस्तुत गरेको थियो । डुङगेश्वर र ठाँटीकाँध गाउँपालिकाले पनि बजेट प्रस्तुत गरेको छन ।