मुगुका सडकमा ‘डुप्लिकेसन’

मुगु, १८ वैशाख (जागरण) ।
मुगुको छायानाथ रारा नगरपालिकाको गमगढीदेखि चंखेलीसम्मको ३७ किमि सडक निर्माणमा ‘डुप्लिकेसन’ भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडकमा ग्रामीण पहुँच कार्यक्रमले डोजर लगाएर खन्न सुरु गरेको हो ।
मुगु कर्णाली नदीको भटेचौर पुलदेखि बामगाउँसम्मको १८ किमि सडक डिभिजनले ठेक्का मार्फत सम्पन्न गरेको थियो ।
ग्रामीण पहुँच कार्यक्रमले पुनस् भटेचोर पुलदेखि नै डोजर लगाएर निर्माण सुरु गरेको छ । ग्रामीण पहुँच कार्यक्रमले हामीलाई जिम्मा दिनुर्पयो भनेपछि निर्माण कार्यबाट हात झिकेको सडक डिभिजन प्रमुख माधव अधिकारीले बताउनुभयो ।
सडकमा चालु आर्थिक वर्षमा छुट्याइएको डेढ करोड बजेट सरकारलाई फिर्ता हुने उहाँको भनाइ छ । सडक निर्माणमा गत वर्षको बजेटबाट ४५ लाख खर्च भइसकेको उहाँको भनाइ छ । पहिले जानकारी नहुँदा डुप्लिकेसन भएको उहाँले दाबी गर्नुभयो ।
गमगढीदेखि चंखेली हुँदै हुम्ला, दार्मसम्मको करिब ७० किमि सडक निर्माणको लागि २ अर्ब २४ करोड बजेट बिनियोजन गरिएको कार्यक्रमले जनाएको छ ।
कार्यक्रमका अनुसार पाँचवटा डोजर मार्फत काम भइरहेको छ । सडक डिभिजनसँगको सहमतिमा गमगढीदेखि चंखेली हुँदै हुम्ला, दार्मसम्मको सडक निर्माणको जिम्मा लिएको कार्यक्रमका टिमलिडर मोहन रुवालीले बताउनुभयो ।
कामदार लगाएर सडक खन्दा ढिलो हुने भएकाले डोजर प्रयोग गरिएको उहाँको भनाइ छ । ढिलासुस्ती हुने भएकोले फर्म दर्ता गराएर पाँचवटा डोजरले खन्ने उहाँको भनाइ छ ।
रकम खर्च गर्नै समस्या
जिल्ला समन्वय समिति हुम्ला मार्फत निर्माण हुन लागेका तीन कृषि सडकको १ करोड ५० लाख रुपैयाँ फ्रिज जाने सम्भावना देखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास तथा कृषि सडक विभागले वैशाख पहिलो सातामात्र ती सडकको अख्यितारी पठाएको थियो । आर्थिक वर्ष सकिन करिब साढे २ महिना मात्र बाँकी रहेकाले रकम फ्रिज जाने अवस्था आएको हो ।
अहिलेसम्म सडकको रेखांकन (इलाइमेन्ट) समेत हुन नसकेको जिससले जनाएको छ । समितिका निमित्त समन्वय अधिकारी देवी ऐडीका अनुसार तीन सडक योजनाका लागि ५० लाखका दरले रकम आएको छ ।
एक साताअघि मात्र अख्तियारी आएकाले निर्णय गर्न केही समय लागेको उहाँको भनाइ छ । पाँच गाउँपालिकालाई एक आपसमा जोड्न कृषि सडक योजना सञ्चालन हुन लागेका हुन्
निमित्त समन्वय अधिकारी ऐडीका अनुसार नयाँ ट्रयाक खोल्नका लागि डाडाफयादेखि हेक्पासम्म, सिमकोट–बरगाउँ, ठेहे हुँदै खार्पुनाथ र छिप्रा राया हुँदै सर्किदेउसम्मका लागि प्रतियोजना ५० लाखका दरले रकमको अख्तियारी आएको हो । अख्तियारी ढिलो आएकाले निर्माणमा ढिलाइ हुने समितिले जनाएको छ ।
सडक निर्माणमा दोहोरोपना पर्न नदिन सम्बन्धित गाउँपालिकालाई सडकको रेखाङ्कन गरेर पठाउन लगाइएको समितिले जनाएको छ ।