सुर्खेत, ११ असार (जागरण) । कर्णाली प्रदेशसभामा आजदेखि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वजेटका विषयमा छलफल शुरु भएको छ ।
यसअघि सरकारको अनुरोध गरेपछि एक पटक र अर्को पटक नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको प्रदेशसभा बैठक आजदेखि भने निर्वाध रुपमा चलेको हो । आजदेखि शुरु भएको छलफल भोली र पर्सी पनि चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा बैठकमा प्रतिपक्षमात्रै नभई सत्ता पक्षका साँसदहरुले पनि सरकारको वजेटप्रति आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले वजेटमा विचौलियाको प्रभाव परेको दावी गर्नुभएको छ । साथै उहाँले विगतमा वजेट र योजना कार्यन्वयन गर्न नसकेपछि रकमान्तर गरिएको भन्दै आलोचना गर्नुभयो ।
प्रदेशसभा बैठकमा साँसद् कृष्णा शाहले कृषिजन्य जमिन बाँझै रहेको भन्दै अव त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै सत्तापक्षका साँसद् ठम्मर विष्टले सरकारको वजेट मुख्यमन्त्री, मन्त्रीहरु, प्रतिपक्षी दलका नेता तथा दलका ठूला नेता केन्द्रित भएको बताउनुभएको छ । उहाँले हचुवाको भरमा वजेट विनियोजन भएको समेत बताउनुभएको छ ।
प्रदेशसभा वैठकमा साँसद्हरु सोशिला शाही, विन्दमान विष्ट, अमरबहादुर थापा, गणेश प्रसाद सिंह, गोपाल शर्माले पनि आफ्नो सुझाव र आलोचना प्रस्तुत गरेका छन् ।
प्रदेशसभामा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गत असार १ गते आगामी आर्थिक वर्षको वजेट र योजना प्रस्तुत गर्नुभएको थियो । त्यसमै केन्द्रित भएर प्रदेशसभामा छलफल चलिरहेको हो । प्रदेशसभा बैठक भोली दिउसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।