सुर्खेत, १८ वैशाख (जागरण) ।
निर्माणाधीन भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनामा तालाबन्दी गरिएको छ । निर्माण कार्यमा कार्यरत कामदार र त्यहाँका समुदायले संयुक्त रुपमा तालाबन्दी गरी काम ठप्प पारेका छन् ।
१२९ औँ अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाइरहेका बेला आयोजनाले कामदारलाई विभेद गरेको भन्दै कामदार र स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
आयोजनामा आबद्ध मजदुर युनियन र सरोकार समितिका संयुक्त अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयोजनाले विभिन्न बहानामा नेपाली कामदारलाई निकालेको भन्दै विभिन्न माग समेत अघि सारेका छन् ।
कामदारहरुले विभिन्न बहानामा आयोजना तथा चाईनिज कम्पनीबाट निकालिएका दक्ष तथा अदक्ष कामदारहरुलाई प्रत्यक्ष कामदारहरुको रोहवरमा सहमति गराई तत्काल रोजागरी दिइनुपर्ने माग गरेका छन् ।
त्यस्तै कामदार तथा श्रमिकहरुको मासिक न्यूनतम (दिनको १ दिन) विदा दिनुपर्ने र सो दिनको पूर्ण तलब–भत्ता उपलब्ध गराउनुपर्ने लगायतको माग अघि सारेका छन् ।
यस्तै, त्यस क्षेत्रका स्थानीय समुदायले समेत आयोजनाले समुदायलाई झुठ्ठा आश्वसन मात्रै बाँडेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका छन् ।
आयोजनाको प्रत्यक्ष प्रभावित रहेका क्षेत्र हात्तिखाल, गरुवानीमा शुद्ध खानेपानीको दिर्घकालीन योजना तत्काल निर्माण गरिदिनुपर्ने, प्रभावित क्षेत्र अन्तर्गत रहेका हात्तिखाल, गेरुवानीमा विद्युतीय लिफ्ट सिँचाईको दिर्घकालीन योजना तत्काल अघि बढाउनुपर्ने, हात्तिखाल र गेरुवानीमा काम सम्पन्न हुन बाँकी रहेको सिँचाई कुलो तत्काल सम्पन्न गर्नुपर्ने लगायतका १० वटा माग स्थानीय समुदायले अघि सारेका छन् । उनीहरुले यी माग तत्काल कार्यान्वयनमा आउनुपर्नेमा जोड दिएका छन् ।
यसबारेमा भेरी–बबई डाईभर्सन आयोजना प्रमुख शिवकुमार बस्नेतले सामान्य कुरामा पनि यसरी आयोजनामा तालाबन्दी गर्नु अपराधिक क्रियाकलाप भएको बताउनुभयो ।
उहाँले त्यहाँका वडा अध्यक्षसहितको बैठकले केहि दिनअघि समस्याको समाधान गरेको पनि बताउनुभयो ।