एसइइको नतिजा

काठमाण्डौँ, १२ असार (जागरण) । राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक गरेको छ । गत चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३ दशमलव ६० देखि जीपीए ४ ल्याउने परीक्षार्थीको संख्या १७ हजार ५ सय ८० रहेको छ ।
त्यस्तै जीपीए ३ दशमलव २० देखि जीपीए ३ दशमलव ६० ल्याउने परीक्षार्थीको संख्या ५१ हजार १ सय ३७ रहेको छ । त्यस्तै जीपीए २ दशमलव ८० देखि जीपीए ३ दशमलव २० ल्याउने परीक्षार्थीको संख्या ६३ हजार ७ सय ४१ छ । जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याउने परीक्षार्थी ७६ हजार ५ सय ६४ रहेका छन् । त्यस्तै २ दशमलव ० देखि २ दशमलव ४० ल्याउने परीक्षार्थी ९८ हजार २ सय ७ रहेका छन् ।
त्यस्तै जीपीए १ दशमलव ६० देखि २ दशमलव ० जीपीए ल्याउने परीक्षार्थी ९५ हजार ३ सय ७ रहेका छन् । त्यस्तै जीपीए १ दशमलव २० देखि १ दशमलव ६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ रहेको छ ।
परीक्षाफल चित्त नबुझी पुनर्याेग गर्नुपरेमा नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने बोर्डले जनाएको छ । पुरक परीक्षामा सहभागी हुनका लागि ’सी’ भन्दा तलको ग्रेड आएमा पुरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुने व्यवस्था पनि बोर्डले गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.see.gov.np मा गएर नतिजा हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । यसैगरी results लेखेर स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन सकिन्छ ।