दैलेख, १६ असार (जागरण) । दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण आजदेखि शुरु हुने भएको छ । दैलेख पुगेको टोलीले आजदेखि क्याम्प खडा गरेर अन्वेषणको काम शुरु गर्ने नेपाल सरकारको टोलीले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको नेतृत्वमा आएको अन्वेषण टोलीले चिनियाँ विशेषज्ञको टोलीलाई दैलेख पुर्याएको छ ।
टोलीमा सहभागि प्रतिनिधि सभा साँसद् ध्रुवकुमार शाहीले दैलेखको पेट्रोलियम पदार्थको बारेमा चिनियाँ टोलीले आजदेखि अन्वेषण गर्ने बताउनुभयो । मन्त्री यादवले अन्वेषण पछि उत्खनन् कहिले देखी गर्ने भन्ने टुङ्गो लाग्ने बताउनुभएको छ ।
दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन गर्ने उद्देश्यले चिनियाँ विशेषज्ञसहितको टोलीमा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे, दैलेख निर्वाचन क्षेत्रनम्वर २ का प्रतिनिधिसभाका साँसद राजबहादुर बुढा, साँसद पार्वती विसुन्के, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद शाही र मन्त्रालयका सचिवलगायत सहभागि छन् ।
यसअघि यस्तै टोलीले दैलेखको श्रीस्थान, पादुका र नाभिस्थानबाट बगेको पेट्रोलियम पदार्थको नमुना संकलन गरी काठमाडौं लिएको थियो । केपी ओलीको अघिल्लो कार्यकालमा त्यो क्षेत्रमा रहेको पेट्रोलियम पदार्थबारेको अध्ययन गरी चिनियाँ टोलीले नमुना संकलन समेत गरी नेपाल सरकारलाई रिपोर्ट दिइसकेको छ ।
प्रारम्भिक प्रतिवेदन सकारात्मक रहेको र कुन परिमाणमा पेट्रोलियम रहेको छ भन्नेबारे अध्ययन हुने टोलीमा सहभागी सांसद ध्रुवकुमार शाहीले जागरणलाई जानकारी दिनुभयो । शाहीले यो उत्खननले कर्णाली प्रदेश मात्रै नभई समग्र नेपालकै कायापलट हुने दावी गर्नुभयो ।