स्थानिय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम बनाए प्रभावहिन

सुर्खेत, १७ असार (जागरण) । कर्णाली प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न नसकेको पाइएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले तामझामका साथ उद्घाटन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले वास्तविक बेराजगारलाई अझै समेट्न नसक्दा र स्पष्ट योजना नबनाइँदा कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।
केही बाहेक धेरै स्थानिय तहमा रोजगार कार्यक्रममा आवद्धहरुले के काम गर्ने भन्ने स्पष्ट योजना बनाउन नसकेको पाइएको छ । कतिपय स्थानिय तहले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्धहरुलाई विकास निर्माणका काममा भन्दा पनि झारा टार्ने काममा लगाएका छन् ।
योजना छनोट गरी काममा लगाउन भन्दै केन्द्र सरकारले वजेट पठाए पनि स्थानिय तहहरुले भने झार उखल्ने, बाँदर धपाउने जस्ता साना साना काममा वजेट खर्च गर्ने गरेका स्थानिय नागरिकहरुले बताएका छन् ।
दैलेखको नारायण नगरपालिकामा गत शनिवार रोजगार कार्यक्रममा छनोट भएकाहरुलाई टुँडिखेल नजिकै सिस्नो फँडानी गर्न लगाइएको छ ।
यस्तै अन्य स्थानीय तहमा पनि सडक, नाली, सिँचाई, खानेपानीलगायत योजना मर्मतका नाममा झारा टार्ने काम भइरहेको छ । मजदुरी गरी दैनिक १ हजार बढी आम्दानी गर्ने युवाले कार्यक्रममा समावेश हुँदा थप समस्या भएको बताएका छन् ।
यता बेरोजगारलाई वर्षमा १ सय दिन रोजगारी दिनेगरी सञ्चालन गरिएको कार्यक्रमबाट जाजरकोटका युवा–युवतीले १ सातासमेत रोजगारी पाउन सकेका छैनन् । विपन्न र बेरोजगारको सट्टा पहुँचवालाले रोजगारी पाएको गुनासो बढ्न थालेको हो ।
बजेट दामासायी रूपले बाँडफाँड हुँदा र पहुँचवालाको पोल्टामा जाँदा कार्यक्रम प्रभावकारी हुन नसकेको स्थानीय नागरिक हरिबहादुर ओलीले वताउनु भयो । असारे विकास र मर्मत सम्भार तथा टालटुल गर्ने काममा बजेट खेर गइरहेको उहाँले बताउनु भयो ।