विरुवा वितरण भइरहन्छ, उपलव्धी छैन 

खड्ग सुनार । 
मुगु, १७ असार (रेडियो सौर्यदय) । सरकारी स्तरबाट मुगुमा फलफूलका विरुवा वितरण भएपनि खासै उपलव्धी नभएको पाइएको छ । जिल्ला कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्र मुगुद्वारा प्रत्येक वर्ष सुन्तला, कागतीका विरुवा वितरण भएपनि त्यहाँ उपलव्धी नै भएन ।
सुन्तला र कागतीका विरुवा कृषकले वर्ष वर्षमा लिने गरेका छन् । लिइएका विरुवा कृषकहरुले बारीमा रोपेपनि अहिले सम्म कुनै ठाउँमा कागती, सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास भएको छैन ।
कृषकहरुले विरुवा लिने गरेको तर विरुवा रोप्न नजाने हुनाले बिरुवा बारीमा नै कुहिने गरेका छन् ।   कृषकले बिरुवालाई छाडा पशुचौपायबाट बचाउन नसकेकासमेत पाइएको छ । सरोकारवालाले कृषकहरुले लापरबाही देखाएको बताएका छन् ।
जिल्ला कृषि ज्ञान केन्द्र सम्र्पक केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख सुकिराम नेपालीकाअनुसार  कृषकको नाममा बदमासी बढेको बताउनुभएको छ । कृषकहरुले विरुवा माग गर्ने तर लिइसकेपछि अरुलाई विक्री गर्ने गरेकाले उपलब्धी नदेखिएको उहाँले बताउनुभएको छ ।