विपन्नलाई बाख्रा

सुर्खेत, १९ असार (जागरण) । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ का विपन्न ६० परिवारलाई निःशुल्क बाख्रा वितरण गरिएको छ ।
वडा कार्यालय र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा सञ्चालित साझा आवाज कार्यक्रमले संयुक्त रुपमा बाख्रा वितरण गरेका हुन् ।
गरिवी निवारण गर्नका लागि वडाका विपन्न एवं दलित परिवारलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष कुलबहादुर बुचाले जानकारी दिनुभयो ।
अध्यक्ष बुचाका अनुसार प्रत्येक परिवारलाई दुई–दुई वटा माउ बाख्रा गरी एक सय २० वटा बाख्रा वितरण गरिएको छ ।
जसका लागि वडा कार्यालयको पाँच लाख र साझा आवाजको चार लाखगरी नौ लाख रुपैँया बराबरका बाख्रा वितरण गरिएको बुचाले जानकारी दिनुभयो । बाख्रा पाउनेमा वडाभित्रका ४५ घर परिवार दलित र १५ परिवार जनजाति रहेका छन् ।
यस बर्ष बाख्रा लिएका कृषकहरुसंग वडाले २०७७ साल जेठ महिना भित्र एउटा पाठो वा पाठी वडालाई फिर्ता गर्नुपर्नेगरी सम्झौता गरेको छ ।