आहा कर्णालीः डोल्पा चिनाउन साइकल यात्रा

डोल्पा, २२ असार (जागरण) । पर्यटनको प्रचुर सम्भावना रहेको डोल्पा जिल्ला पर्यटकले अझै चिन्न नसकेको भन्दै साइकल यात्रा गर्न थालिएको छ । डोल्पा जिल्लाका स्थानीय भाष्कर बस्नेतले पहिलो पटक डोल्पामा साइकल यात्रा गरिरहनुभएको छ ।
डोल्पा सबै हिसाबले पर्यटकीय सम्भावना रहेको जिल्ला हो भन्दै डोल्पालाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन साइकल यात्राको थालनी गर्नुभएको हो ।
नेपालकै गहिरो ताल फोक्सुण्डोसम्म र फोक्सुण्डो तालको बाटोमा एड्भान्चर साइकल यात्रा गरेर डोल्पालाई चिनाउने आफनो सपना रहेको बताउँदै साइकल यात्रा थालेको भाष्कर बस्नेत बताउनुभएको छ । रुकुमको द्धारी भञ्जयाङबाट डोल्पाको रुपपाटन हुँदै उनी नयाँ साइकल यात्राको पदमार्ग खोजी गर्दै डोल्पा पुग्नुभएको थियो ।
द्वारी भञ्जयाङहुँदै आउनुको मुख्य उद्देश्य भनेको साइकिलिङ, ट्रेकिङ र म्याराथुनको सम्भावनाबारे अध्ययन गर्न आफू हिँडेको र क्याराभान फिल्मका नायक थिल्ने लुन्डुप लामाको देहान्त भएको क्षेत्रको समेत अध्ययन गरेर प्रचारप्रसार गर्ने लक्ष्य रहेको साइकल यात्री भाष्कर बस्नेतले बताउनुभयो । करिव ४६ सय ४४ मिटरको उचाइमा रुकुम र डोल्पाको बीचमा रहेको द्वारी भञ्जयाङ साइकलमा नै यात्रा गरेर दुईजना डोल्पा पुगेको बताउनुभयो ।

 

 

 

 

-सहयोग अन्नपूर्ण