आहा कर्णालीः विहान उठ्ने वित्तिकै हिमाल, झरना र कर्णाली देख्न पाइने मुगुम

मुगु, २२ असार (जागरण) । मुगुको सदरमुकाम गमगढीबाट २ दिनको पैदल यात्रापछि पुगिन्छ मुगुम गाँउ । मुगुम कार्मारोङ गाउँपालिका–२ स्थित यो गाउँ पर्यटकीय सम्भावनाको दृष्टिले आकर्षक मानिन्छ । तर, प्रचारप्रसारको कमिले ओझेल परेको छ । पर्यटकको पर्खाइमा रहेको मुगुम गाउँ राराताल अवलोकनपछि पर्यटकको मुख्य गन्तव्य बनाउन सकिने स्थानीय च्यावा तामाङले बताउनुभयो ।
गाउँमा पर्यटक भित्र्याउन सक्ने सम्भावना छ, तर प्रचारप्रसारसहित सडक तथा भौतिक पूर्वाधार विकास हुन सकेको छैन । उहाँका अनुसार गाउँमा होमस्टे सञ्चालन गर्न आवश्यक छ ।
त्यस गाउँका कुनै पनि घरमा बास मागेर बस्ने वित्तीकै सबैभन्दा पहिले भोटे चिया र नास्ताले पाहुनालाई स्वागत गर्ने परम्परागत चलन छ । पर्यटकलाई खान हिमाली सिस्नु, गुलियो फापरको ढिडो र रोटी, कोदोको थुक्पालगायत स्थानीय खाद्य परिकार सहजै उपलब्ध छ ।
पैदल हिँडेर साँझ थकानका साथ गाउँ पुगेका जो कोही रातीको निन्द्रापछि बिहान उठ्दा गाउँको किनारमा बगिरहेको मुगु कर्णाली, कोइकी र छाँयानाथ हिमाल, गाउँको माथिबाट खसेको झरनाको दृश्य देख्दा पूरै थकान मेटिएको महसुश गर्छन् । बुद्घको मूर्ति, करिव ८ सय वर्ष पुरानो वचन बोल्ने गुम्बालगायत धार्मीक तथा पर्यटकीयस्थल यस गाउँका आकर्षक स्थल हुन् ।
दुई सय ९५ घरधुरी रहेको मुगुम गाउँमा लामा समुदायको मात्र बसोबास छ । ९७ घरधुरी मुगुम गाउँमा बस्छन् । मुगुम गाउँ नजिकै यार्सा पाटन पनि छ ।
गाउँमा सजिलै पर्यटक भित्र्याउने सम्भावना रहेको र यसलाई प्रदेश सरकारले सहयोग गरेपछि स्थानिय नागरिकहरु खुसी भएका छन् ।
नागरिकहरुको मागअनुसार नै मुगुम कार्मारोङ गाउँपालिका–२ का वडा अध्यक्ष कार्मा तामाङका अनुसार कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट गाउँ पुग्ने पदमार्ग निमार्णका लागि १० लाख विनियोजन भई काम हुँदैछ ।