सुर्खेत, ३ साउन (जागरण) । केन्द्र सरकारले कर्णालीका १० वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रुपमा घोषणा गरेको छ । सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले एउटा जिल्लाको एउटा नयाँ नमूना विद्यालयको रुपमा घोषणा गरेको हो ।
सुर्खेतको लेकवेशी नगरपालिकाको जनज्योति माध्यमिक विद्यालय दशरथपुर, रुकुम पश्चिमको चौजहारी नगरपालिकास्थित हिमालय माध्यमिक विद्यालय खोलागाउँ, सल्यानको त्रिवेणी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय रिड्डाचौर, जाजरकोटको छेडागाड नगरपालिकास्थित जनप्रिय माध्यमिक विद्यालय दशेरा, दैलेखको चामुण्डा विन्द्रारसैनी नगरपालिकास्थित चामुन्डा माध्यमिक विद्यालय हाज्कोट छनोटमा परेका छन् ।
यस्तै डोल्पाको मुण्ड्के चुला गाउँपालिकास्थित अन्नपूर्ण माध्यमिक विद्यालय सर्मी, मुगुको खत्याड गाउँपालिकामा रहेको महादेव मष्ठ माध्यमिक विद्यालय, हुम्लाको सिमिकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालय लादेओडा, जुम्लाको तातोपानी गाउँपालिकामा रहेको नेत्रज्योति माध्यमिक विद्यालय हाँकु, कालिकोटको रास्कोट नगरपालिकामा रहेको बडिमालिका माध्यमिक विद्यालय विजयपुर छनोटमा परेका छन् ।
यसैबीच, सरकारले थप एक सय विद्यालयलाई नमूना छनोट गरी अनुदान दिने भएको छ । नेपाल सरकारले यसअघि दुई सय २२ सामुदायिक विद्यालयलाई नमूना छनोट गरेको थियो भने आउँदो आर्थिक वर्षमा नमूनाका रूपमा अतिरिक्त अनुदान पाउन थप एक सय विद्यालय छनोट गरेको हो ।
सरकारले दातृ निकायको सहयोगमा ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरिरहेको छ भने आगामी आर्थिक वर्षको बजेटमा विसं २०७६ देखि २०८५ सम्मका लागि सार्वजनिक विद्यालय सुधारको दशक अभियान घोषणा गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निश्चित आधारमा छानिएका विद्यालयलाई केन्द्रबाट आठ करोड रुपैयाँसम्म अतिरिक्त अनुदान दिइनेछ । नमूना विद्यालयको अवधारणाले विद्यालयको भौतिक, शैक्षिक र अन्य अवस्थामा सुधार ल्याई सिकाइ उपलब्धिमा वृद्धि गर्नेछ ।
विद्यालय नमूना विद्यालय विकास एवं सञ्चालन निर्दे्शिका २०७४ (पहिलो संशोधन, २०७५) अनुसार आवेदन दिने विद्यालयमा पर्याप्त सामग्रीसहितको प्रयोगशाला र कक्षा ११ र १२ मा अनिवार्य रूपमा विज्ञान विषयको पढाइलगायत छनोट गरिएको हो ।