सवा चार अर्बमा बन्दै २२ तले धरहरा

काठमाण्डौ, १९ वैशाख (नयाँ पत्रिका) । ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताउनुभयो ।
प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटीसमेत तयार भइसकेको उहाँले बताउनुभयो ।
‘अहिले टेन्डर डकुमेन्ट तयार गर्दै छौँ,’ उहाँले भन्नुभयो, ‘अबको डेढ साताभित्रै टेन्डर आह्वान गर्ने, जेठ अन्त्यसम्ममा टेन्डर अवार्ड गर्ने र असारभित्रै शिलान्यास गर्ने कार्ययोजना छ ।’
डिपिआरअनुसार धरहराको कुल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ। प्राधिकरणका अनुसार धरहरा र परिसरको कुल क्षेत्रफल २४ रोपनी हुनेछ । भूकम्पले भत्काएको धरहरालाई सिसाले छोपेर राखिनेछ भने भत्किएको धरहरासँगै नयाँ धराहरा निर्माण हुनेछ ।
नयाँ निर्माण हुने धरहरा ६९.२ मिटर अग्लो हुनेछ । त्यसमाथि १२ मिटरको गुम्बज निर्माण गरिने प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो ।
धरहरा निर्माणका लागि सुन्धारास्थित हुलाक कार्यालय भत्काइनेछ। उक्त स्थानमा दुई तलाको बेसमेन्ट पार्किङ निर्माण हुनेछ । धरहराको पुनर्निर्माण आगामी दुई वर्ष्भित्र सम्पन्न भइसक्नेछ । २२ तलाको धरहरामा २२ तलासम्म नै लिफ्ट जान्छ ।