कर्णाली सरकारद्वारा केन्द्रसँग थप कर्मचारी माग

काठमाण्डौँ, ७ साउन (जागरण) । कर्मचारी अभावका कारण विकासका काम गर्न नसकिएको भन्दै कर्णाली प्रदेश सरकारले केन्द्र सरकारसँग थप कर्मचारी माग गरेको छ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गर्नुभएको हो । मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल ५ सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने पनि स्पष्ट पार्नुभएको छ ।
काठमाडौंमा आज भएको एक साक्षात्कारमा मुख्यमन्त्री शाहीले विकास, निर्माणका कामलाई अघि बढाउन ५ सय कर्मचारीको तत्काल आवश्यकता रहेको बताउनुभएको छ ।
उहाँले कर्णाली प्रदेशमा कर्मचारी जानै नचाहेकाले कर्णालीमा पठाउने कर्मचारीलाई थप तलब, भत्ताको व्यवस्था गर्न पनि संघीय सरकारलाई सुझाव दिनुभएको छ । कर्णाली प्रदेशमा हाल ३ हजार ५ सय कर्मचारीको अभाव रहेको मुख्यमन्त्री शाहीको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको स्पष्ट पार्नुभएको छ । उहाँले केन्द्र सरकारबाट आवश्यक बजेट नपाएको गुनासो गर्नुभएको हो ।
उहाँले भौगोलिक विकटताका कारण विकास, निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढी बजेटको आवश्यकता हुने पनि केन्द्र सरकारलाई स्मरण गराउनुभएको छ ।