दीपेन्द्र ओली
सुर्खेत, २१ साउन (जागरण) । के तपाइलाई कर्णाली प्रदेश घुम्न मन छ ? मन छ भने तपाइलाई यो धर्तिको ‘भर्जिन’ पर्यटनको केन्द्रविन्दु कर्णालीमा स्वागत छ । तर अझै पनि तपाईमा केही अन्यौलता छ कि ? जस्तै कहाँ घुम्ने ? के हेर्ने ? कर्णालीको पहिचान के हो ? रितिरिवाज चालचलन, संस्कृति के छ ? विशेषयता के छन् ? भन्ने जिज्ञासा छन् ?
यदी माथि उल्लेख गरिएका जिज्ञासा तपाईमा छन् भने अन्यौलतामा नबसी सिधै यात्राको तय गर्दा पनि हुन्छ । किनकी, तपाई कर्णाली प्रदेश प्रवेश गर्ने नाका बाँके सुर्खेत रत्न राजमार्गअन्तर्गत बर्दियाको बबई पुल पार गर्नासाथ कर्णाली शुरु हुन्छ र त्यहीबाट शुुरु हुन्छ तपाईको कर्णालीको पर्यटनबारेकोे अध्ययन ।
कर्णाली प्रदेश वन निर्देशनालयले प्रवेशद्वारमै मुख्य मुख्य पर्यटकिय स्थलहरु, कला संस्कृति, रितिरिवाज, कर्णालीका जीवजन्तु सवैकोे जानकारी भित्ताभित्ताबाटै गराएको छ ।
पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम मार्फत बबई पुल नजिक, बबई र हर्रेको बीचमा, भेरी नदीको पुल तथा सुब्बाकुना नजिक यस्ता जानकारी राखिएकोे प्रदेश वन निर्देशक वुद्धी रिजालले जानकारी दिनुभयो । पर्यटकलाई आकर्षित गर्नुका साथै सुचनाको कामसमेत होस् भनेर यस्तो गरिएको उहाँले बताउनभयो ।
यस्ता पर्यटकिय जानकारीहरु उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेका पर्यटकको विवरणमा आधाारित भएर तयार गरिएको निर्देशनालयका रेेेेञ्जर अशोक खत्रीको भनाई छ ।
के-के हुन् कर्णालीका ४० गन्तव्य ?
कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशस्थित विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा अन्य महत्वपूर्ण प्रदेशका १० वटै जिल्लाका ४० स्थानलाई पर्यटकीय गन्तव्य सार्वजानिक गरेको हो ।
सुर्खेतका पर्यटकीय गन्तव्यमा काँक्रेविहार, बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर रहेका छन् । दैलेखमा दैलेखको राकम कर्णाली र पञ्चकोसी सर्किट रहेका छन् भने जाजरकोटमा भेरी नदी, नादाइ गढ, कुशे ठाकुरजीका गढ रहेको मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले जानकारी दिनुभयो ।
त्यस्तै जुम्लामा चन्दननाथ, गुठीचौर पातारासी र सिंजा भ्याली रहेका छन् । कालिकोटमा पचाल झरना, चुलीमालिका, कोट दरबार र पञ्चा दरबार पर्यटकीय गन्तव्यको सूचीमा परेका छन् । हुम्लामा लिमी भ्याली, रेलिङ बाराडेउ, दुधेदह र खार्पुनाथ सिमीकोट रहेका छन् । मुगुमा रारा क्षेत्र, छायानाथ,सल्यानको कुपिण्डे ताल, छायाक्षेत्र र खैराबाङ मन्दिर रहेका छन् ।
पर्यटकीय गन्तव्यमा रूकुम पश्चिममा सिस्ने हिमाल, सर्फु ताल, मुसीकोट दरबार र डिग्रे मन्दिर र डोल्पामा अपर डोल्पा, से फोक्सुण्डो, गुम्बा, भिजेर, धो ताराप र त्रिपुरासुन्दरी, छलामष्टा तथा दुनै समेटिएको छ ।
कर्णालीमा पर्यटकको आकर्षण बढाउनका लागि प्रादेशिक पर्यटन प्रवद्र्धन समिति गठन भएको छ । समितिको सचिवालय संयोजकमा राजु कार्र्की चयन भएको बताइएको छ । समितिमा दिलबहादुर महत, देवराज जैशी, देवीकृष्ण रोकाया र सदस्य सचिवमा मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधान रहेका छन् ।
कार्यालय काठमाडौंमा खोलिने तथा लंकबहादुर शाही, जनकराज शर्मा र छेवाङ लामा सम्पर्क व्यक्तिको रूपमा तोकिएको कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।
अव हेर्नुहोस् भित्ता-भित्तामा राखिएका जानकारीः
भेरी पुल पार गर्नााथ देखिने भित्तामा लेखिएका जानकारी । जहाँ कर्णाली प्रदेशको नक्शा, शे-फोक्सण्डो ताल, रारा ताल, चौरीगाई, कस्तरी, रेडपाण्डा, हिमचितुवा, डाँफेको चित्र देख्न सकिन्छ ।
यो हो चिनदेखि नेपाल हुँदै भारतसम्म बगिरहेको सवैभन्दा लामो नदी कर्णाली र कालिकोटको हुड्के नृत्य ।
यस्तै थप जानकारीहरु पनि ठाउँठाउँमा देख्न सकिन्छ । पर्यटकिय क्षेत्र र विशेषयता बारे जानकारी दिएको देख्दा आफूहरु घुम्नका लागि अझै उत्साहित भएको पर्यटकहरुले बताएका छन् । रुपन्देहिको बुटवलबाट कर्णाली घुम्न निस्किनुभएका सिद्धार्थ पौडेल र उहाँको टीमले कर्णाली सवै घुम्न अर्को पटक एक महिनाकै प्याकेज बनाउने बताउनुभयो ।