काठमाण्डौँ, २१ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले संघीय सरकार समक्ष कर्मचारीको अभाव पूर्ति गरिदिन माग गरेको छ ।
प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्री खड्ग खत्रीले संघिय सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग कर्मचारी व्यवस्थापन गरिदिन माग गर्नु भएको हो ।
शाहीको माग पछि पण्डितले सकारात्मक जवाफ दिएको भेटमा सहभागि प्रदेशसभा साँसद् धर्मराज रेग्मीले जानकारी दिनुभएको छ । कर्मचारी अभाव हुँदा कर्णाली प्रदेशमा काम कारबाहीमा असहजता उत्पन्न भएको छ । प्र्रदेश सरकारले ६ सय भन्दा बढी कर्मचारीको अभाव रहेको भनिरहे पनि त्यसको पूर्ति हुन नसकेको हो ।
कर्मचारी समायोजन गर्दा धेरै कर्मचारीले कर्णालीलाई नरोजेपछि थप कर्मचारी व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाँजिर हुने क्रममै रहेको बताउनुभएको छ । हालसम्म ९ सय ३६ कर्मचारी हाजिर भइसकेका छन् । ३ सय ९८ कर्मचारी हाजिर हुन बाँकी रहेका उहाँले बताउनुभयो ।
उहाँले तोकिएको दरबन्दीभन्दा ६ सय बढी कर्मचारीले प्रदेश रोज्न नचाहेको र यस वर्ष पनि सरकारले कर्मचारीको समस्या भोगिरहनु पर्ने अवस्था भएको बताउनुभएको छ । उहाँले ६ सय ५८ कर्मचारीको अपुग रहेको बताउनुभयो । समायोजनका क्रममा कर्णाली प्रदेशका लागि एक हजार ९ सय ९२ कर्मचारीको दरबन्दी छुट्याइएको थियो ।
एक हजार ३ सय ३४ कर्मचारीले मात्रै कर्णालीलाई रोजेका थिए । कर्णालीलाई सबैभन्दा बढी प्राविधिक समूहका कर्मचारीहरुको अभाव छ ।