यस्तो शौचालय जहाँ घण्टौँ लाईन लाग्नुपर्छ

जुम्ला, १९ वैशाख (जागरण) । जुम्लाको चन्दननाथ नगरपालिकाका ६० घर परिवारले एउटै शौचालय प्रयोग गर्दै आएका छन् ।
जिल्ला सदरमुकामस्थित कालेखोली टोलका ६० घरपरिवारले धेरै विगत ६ बर्षदेखि एउटै शौचालय प्रयोग गर्दै आएका हुन् ।
सबै टोलबासीले एउटै शौचालय प्रयोग गर्दा घण्टौ लाइनमा बस्नु पर्ने बाध्ययता रहेको चन्द्रलाल सुनारले बताउनुभयो । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानीयले एउटै सार्वजनिक शौचालय प्रयोग गर्दै आएपछि यस्तो समस्या भोग्नु परेको हो ।
साँघुरो बस्तीमा गुजुक्कै परेर घरैघर जोडिएको कालेखोली टोलका दलित समुदायसँग शौचालय बनाउने जग्गा नभएपछि नगरपालिकाले बनाइदिएको सार्वजनिक शौचालय प्रयोग गर्न उनीहरु बाध्य भएका हुन् ।
कालेखोली टोलका दलित समुदायले भोग्दै आएको शौच गर्ने समस्या समाधानका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा वडापालिकाले निर्माण गरिरहेको सुविधासम्पन्न आधुनिक शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ ।
वडाध्यक्ष अर्जुनसिंह कठायतका अनुसार १० लाख मा निर्माण हुने आधुनिक शौचालयमा सोलार, विद्युत्, नुहाउने चिसोतातो पानीसहित आवाश्यक सामाग्रीका साथै महिला, पुरुष छुट्टाछुट्टै, अपांग र बालमैत्री हुनेछ ।
आधुनिक शौचालय निर्माणपछि कालेखोली टोलका समुदयायले भोग्दै आएको शौच गर्ने समस्या हट्ने वडाध्यक्ष कठायतले बताउनुभयो ।