सुर्खेत, २७ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले विभिन्न ठाउँमा हेलिप्याड बनाउन भदौ महिनादेखि प्रक्रिया शुरु गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आपतकालिन अवस्थामा उद्दार र अन्य कार्यका लागि १० वटै जिल्लाका १५ स्थानमा हेलिप्याड बनाउन थालेको हो ।
हेलिप्याड बनाउन मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका, डोल्पाको शेफोक्सुण्डो गाउँपालिका र ठूलीभेरी नगरपालिका तथा जुम्लाको तिला गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा हेलिप्याड बनाउन लागेको हो ।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, दैलेखको भगवतीमाई र ठाटीकाँध गाउँपालिका, कालीकोटको नरहरीनाथ गाउँपालिका, महाबै गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा हेलिप्याड बनाउँदै छ । यसैगरी मुगुको छायानाथ रारा नगरपालिका, मुगमकार्मारोङ गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा हेलिप्याड बनाउन लागेको मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले जागरणलाई बताउनुभयो ।
सचिव प्रधानका अनुसार सडकको पहुँच नपुगेको स्थानमा हेलिकप्टरबाट विपतको व्यवस्थापन गराउन हेलिप्याड बनाउन लागिएको बताउनुभएको छ । उहाँका अनुसार हेलिप्याड अन्य कामका लागि समेत प्रयोग हुन सक्ने भएकाले विभिन्न सामाजिक कार्यमा जोड दिनसमेत हेलिप्याड सबै जिल्लामा जरुरी रहेको उहाँले बताउनु भएको छ ।
कर्णाली प्रदेशका कतिपय जिल्ला र ठाउँ अझै पनि यातायात समस्याका कारण कर्णालीका अधिकांश ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित रहेकाले पनि हेलिप्याडको अवधारणा अगाडि सारिएको बताउनुभएको छ ।
कर्णालीका अधिकांश पर्यटकीय क्षेत्रमा सडक सुविधा नभएकाले हेलिकप्टरमार्फत पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना छ । विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, पर्यटकीय र रमणीय स्थानमा हेलिकप्टर प्याकेज बनाएर पर्यटक भित्र्याउन सकिने मन्त्रालयका अधिकारीको भनाई छ ।
चालु आवभित्रै १५ स्थानमा हेलिप्याड बनाउन पर्याप्त रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव प्रधानका अनुसार १ र २ महिनाभित्रै काम सुरु गर्नेगरी आवश्यक प्रक्रिया थालिएको बताउनुभएको छ ।