कालिकोट, ३० साउन (जागरण) । गृह जिल्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन नेत्रविक्रम चन्द विप्लप नेतृत्वको समूहले पटक पटक बम विष्फोट गराएको छ ।
अघिल्लो पटक कालिकोट जाँदा पनि विष्फोटको सामना गर्नुभएका मुख्यमन्त्री शाहीलाई यस पटक पनि लगातार दुई दिन बम पड्काएर तर्साइएको छ ।
मुख्यमन्त्री शाहीको पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउ स्थित घरबाट रास्कोटको सडक उद्घाटनमा जादै गर्दा कृर्षि जेटिए कलेज नजिकै विप्लवका कार्यकर्ताले बम बिस्फोट गराएका हुन् ।
कार्यक्रमभन्दा बाहिरको स्थानमा बम विस्फोट भएको डिएसपी विनोद शर्माले जानकारी दिनुभयो । एक हप्ता लामो समयका लागि गृह जिल्ला भम्रणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समूहका कार्यकर्ताले दिनदिनै बम विस्फोट गर्दै आएका छन् ।
पचालझरना गाउँपालिकाको विषेश गाउँसभा उद्घाटन गर्दैगर्दा र त्यसअघि पनि गरेर दुई पटक उहाँलाई लक्षित गरी बम विस्फोट भएको थियो ।
विस्फोटमा कुनै मानवीय क्षति नभएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
यसैबीच, मुख्यमन्त्री शाहीले विप्लव समूहका नेता कार्यकर्तालाई मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभएको छ । उहाँले जनयुद्धको उपलब्धिकै कारण आफूहरुले सरकारको नेतृत्व गरिरहेको बताउदै केही असन्तुष्टि राखेर टाढा–टाढा बम पट्काउँदैमा केही उपलब्धि नहुने स्पष्ट पार्नुभएको छ ।
यता विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडीले मुख्यमन्त्री शाहीसहित ठूलो सुरक्षा फौज आफ्नो अनुमति बिना आधार इलाकामा प्रबेश गरेकाले सांकेतिक रुपमा प्रतिरोध गरिएको बताउनुभएको छ । अझै अटेर गरेर आफ्नो आधार इलाकामा गतिबिधि बढाइए सशक्त प्रतिकार गर्ने उहाँले चेतावनी दिनुभएको छ ।
सरकारका मान्छे जनताका आवश्यकता पूरा गर्न, जनताका पीडा बुझ्न भन्दापनि फूलमाला र अबिर लगाउन गाउँ पस्ने गरेकाले आफूहरुले विरोध गरेको उहाँले दाबी गर्नुभएको छ ।