घर बनाउने जग्गा पाईयो, लालपुर्जा पाईएन

सल्यान, १९ वैशाख (जागरण) । सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित भोटेचौरका पाँच सय भन्दा बढी घरधुरीले सुकुम्बासी आयोगबाट २०३८ सालमा घर बनाउन जग्गा पाएपनि लालपुर्जा नपाएको गुनासो गरेका छन् ।
सुकुम्बासी आयोगले २०३८ र २०५४ सालमा यहाँका विभिन्न स्थानमा जग्गा उपलब्ध गराएका पाँच सयभन्दा बढी घरधुरीले अझैसम्म लालपुर्जा पाउन नसकेका हुन् ।
छत्रेश्वरीको लान्ती, भोटेचौर, त्रिवेणी, शारदा नगरपालिकाको शान्तिनगर आसपासका क्षेत्रमा सुकुम्बासी आयोगले विपन्नलाई जग्गा उपलब्ध गराएको थियो ।
उनीहरूले पाँचदेखि दस मिटर जग्गा पाएका थिए । जग्गा पाएका कसैले पनि अहिलेसम्म पुर्जा पाउन सकेका छैनन् । पुर्जा नभएका कारण आफूहरू विभिन्न सुविधाबाट वञ्चित भएको उनीहरूको गुनासो छ ।
लान्तीका भुवन बादीले माछा मारेर र मजदुरी गरेर एकतले घर बनाए पनि लालपूर्जा नपाउँदा समस्या भएको बताउनुभयो ।
सरकारले ०५४ सालमै लालपुर्जा दिने भने पनि नदिएकाले घर जग्गा हुनु र नहुनु उस्तै भएको उहाँले गुनासो गर्नुभयो ।
वनको जग्गा अतिक्रमण बढेपछि र जग्गा तथा घडेरी बेनामी बिक्री बढेपछि मालपोत कार्यालयले लालपुर्जा रोक्का गरेको थियो । रोक्का गरेको लालपुर्जा वर्षौंसम्म फुकुवा नभएको स्थानीयको गुनासो छ । अहिलेसम्म बढीमा २५ जनासँग मात्र लालपुर्जा छ ।
पुर्जाका लागि बारम्बार विभिन्न निकायमा माग गर्दै आए पनि पाउन नसकेको भोटेचौरका वीरबहादुर नेपालीले बतानुभयो । केही व्यक्तिको आर्थिक चलखेलका कारण पुरै बस्तीका बासिन्दा मर्कामा परेको उहाँको गुनासो छ । दुई वर्षअघि जिल्लामा स्थापना भएको सुकुम्बासी आयोगको कार्यालयमा पुनस् निवेदन दिएको उहाँको भनाइ छ । स्थानीय भुवन बादीले जग्गामा घर बनाए पनि आफ्नो कुनै स्वामित्व नरहेको बताउनुभयो ।
मालपोत कार्यालयका कायमुकायम प्रमुख लीलाबहादुर बस्नेतले धेरै पहिलेको विषय भएकाले आफूलाई यसबारे जानकारी नभएको बताउनुभयो । संक्रमणकालका कारण लामो समयसम्म सरकार नटिकेकाले लालपुर्जाको समस्या समाधान नभएको हुन सक्ने उहाँको भनाइ छ । दुई वर्षअघि सुकुम्बासी आयोगको कार्यालयले लालपुर्जा्विहीन घरधुरीबाट लिएको निवेदनसमेत अवैध भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएकाले फेरि समस्या भएको उहाँको भनाइ छ ।