सुर्खेत र सल्यानका सरकारी कार्यालयमा छड्के

सुर्खेत, १ भदौ (जागरण) । सुर्खेत र सल्यानका जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालयको अनुगमन गरेका छन् ।
सुर्खेतको जिल्ला प्रशासनले वीरेन्द्रनगरस्थित १२ वटा संघीय सरकार मातहतका कार्यालयहरुको अनुगमनका क्रममा अधिकृतस्तरका तीन, सहायकस्तरका १६ र पोशाक विनाका १६ जना कर्मचारी अनुपस्थित भेटिएका छन् ।
प्रशासन कार्यालयका अनुसार संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनाको कार्यालयमा कुनै पनि कर्मचारी नभएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनुभयो । सबै कर्मचारी हाजिर लगाएर बाहिर गएको पाइएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रदेशस्तरका कार्यालयको अनुगमनका क्रममा अधिकृतस्तरका १८, सहायकस्तरका ३० जना कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइएको छ । यस्तै २१ जना कर्मचारी पोशाक नलगाएर कार्यालयमा आएको पाइएको प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी,
जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालयहरुको छड्के निरिक्षण गरेको छ । आज जिल्लामा रहेका बिभिन्न ११ वटा सरकारी कार्यालयहरुको छड्के निरिक्षण गरेको हो ।
कार्यालयमा कर्मचारीको उपस्थिती, कार्यालयबाट प्रदान गरिने सेवा लगाएतका बिषयमा निरिक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा रहेका घरेलु तथा साना उद्योग बिकास समिती, जिल्ला कारागार, स्वास्थ्य कार्यालय, सिचाई डिभिजन कार्यालय, जिल्ला आयुर्बेद कार्यालयको निरिक्षण गरेको हो ।
यस्तै डिभिजन बन कार्यालय, कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय, शिक्षा बिकास तथा समन्वय ईकाइ, नापी कार्यालय, जिल्ला समन्वय समिती र कोष तथा लेखा नियन्त्रण कार्यालयको निरिक्षण गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्राप्त गरेको अधिकारलाई प्रयोग गर्दै जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालयहरुको निरिक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताउनुभएको समाचार रेडियो राप्ती सल्यानले पठाएको छ ।