पंखबहादुर शाही ।
सुर्खेत, १ भदौ (जागरण) । एक वर्षको अवधिमा कर्णाली प्रदेशमा ५ हजार भन्दा बढी नयाँ उद्योग थपिएका छन् ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाअनुसार कर्णालीमा पाँच हजार ७ सय ८८ वटा नयाँ उद्योग दर्ता भएका हुन् । जसमा ३ हजार ३ सय ९७ घरेलु तथा साना उद्योग, ४ सय २६ लघु उद्योग र वाणिज्ज तर्फ एक हजार ९ सय ६५ दर्ता भएका छन् ।
मझौला ठुला उद्योगहरु भने कर्णाली प्रदेशमै दर्ता नभएको मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायले बताउनुभयो ।
उहाँका अनुसार हुम्ला, डोल्पा र मुगु जिल्लाहरुमा भएका केहि जडिबुटी सम्बन्धीका उद्योगहरु बन्द भएपनि त्यस्ता उद्योगहरुलाई मध्यनजर गर्दै प्रदेश राजधानीमै प्रादेशीक जडिबुटी संकलन केन्द्र खोल्ने तयारी भइरहेको छ ।
जसको लागि सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुको एक सामुदायिक वनमा ६ हेक्टर बराबरको जग्गा भोगाधिकार गर्ने भनेर संघीय सरकारसँग माग समेत गरिसकेको रोकायले बताउनुभयो ।
यस्तै यो वर्ष सुर्खेतको वीरेन्द्रनगर लाटीकोइलीमा जडिबुटी प्रशोधन तथा भण्डारण सेण्टरलाई क्रमागत रुपमा अघि बढाइनेछ । उहाँले यो वर्ष एउटा वन पैदावर सम्बन्धी उद्योगलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारले तयारी गरेको छ ।
चालु आर्थिक बर्षको लागि ठुला मझौला उद्योगहरुलाई समेट्ने कार्यक्रमहरु राखिए पनि हालसम्म के–कस्ता उद्योग समेट्ने, कुन शिर्षकमा कति बजेट विनियोजन गर्ने भन्नेबारे जानकारी प्राप्त भइनसकेको मन्त्रालयको शाखा अधिकृत तुल्सीप्रसाद आचार्यले बताउनुभयो ।