सुर्खेत, १९ वैशाख (जागरण) । विभिन्न माग राख्दै राष्ट्रिय गौरवको आयोजना भेरी–बबई ड्राइभर्सनको कार्यालयमा लगाइएको ताला खुलेको छ ।
मजदुर र स्थानीयले राखेका माग सम्बोधन हुने सहमतिपछि आज दिउँसो आयोजनाको कार्यालयमा लगाइएको ताला खोलिएको हो ।
आयोजना निर्माण कम्पनी, स्थानीयबासी र कामदारबीच सहमतिपछि ताला खोलिएको आयोजना कार्यालयले जनाएको छ । भेरी–बबई सरोकार समितिको उपसमिति हात्तीखालका अध्यक्ष नवीन सारुका अनुसार मागबारे सहमति जुटेपछि ताला खोलिएको हो ।
असन्तुष्ट पक्षले राखेका मागहरुमध्ये कम्पनीले पहिले नै पुरा भइसकेको जनाए पनि फेरी सहमति गरी ताला खोल्नुपरेको छ । विभिन्न बाहानामा आयोजना तथा चिनियाँ कम्पनीबाट निकालिएका दक्ष कामदार सूची उपलब्ध गराउने सहमति भएको छ ।
यस्तै, आगामी जेठ २० गतेभित्र प्रभावित क्षेत्रमा खानेपानी समस्या समाधानका लागि आयोजना निर्माण कम्पनीले २० वटा इनार (कुवा) निर्माण गर्नेलगायत सहमति भएको छ ।
त्यसैगरी स्थानीय कृषकलाई प्रविधियुक्त खेतीका लागि कृषिसम्बन्धि तालिम सञ्चालन गर्नुपर्ने र तालिमका लागि समय आपसी सहमझदारीमा तोक्नेलगायत सहमति भएको भेरी बबई सरोकार समितिको उपसमिति हात्तिखालका अध्यक्ष सारुले बताउनुभयो ।