सुर्खेत, ४ भदौ (जागरण) । कर्णाली प्रदेशका प्रदेश सांसदहरुले सरकारले गर्नुपर्ने काम समयमै हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको चौँथो अधिवेशनमा विशेष समयमा बोल्ने धेरैजसो सांसदहरुले सरकारको काममा प्रश्न उठाएका हुन् ।
विशेष समयमा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवम् सांसद यमलाल कंडेलले सरकारले के काम गर्ने भन्नेमा अन्योल हुन नहुने बताउनुभयो । उहाँले निर्णयमा ढिला सुस्ती भयो भने सरकारको काम प्रभावकारी हुन नसक्ने भन्दै समयमै सरकारले काम प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस संसदिय दलका नेता जीवन बहादुर शाहीले सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको बताउनुभयो । उहाँले पूर्वाधारहरु नहुदा सम्ववेदनशिल क्षेत्र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास हुन नसकेको बताउनुभयो ।
गत आर्थिक वर्षमा टेन्डर गरिएका विकास निर्माणका कामहरु अहिलेसम्म संचालन हुन नसकेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यान जान नसकेको बताउनुभयो ।
विशेष समयमा बोल्ने सांसदहरुले कर्णालीको विकासका लागि सरकारले ध्यान दिन सुझाएका छन् । कर्णाली प्रदेशसभाको अर्को बैठक भदौ २२ गते बस्नेगरी स्थगित भएको छ ।