कालिकोट, १९ वैशाख (जागरण) । कालिकोटको पलाँता गाउँपालिकाका सबै विद्यालयमा कम्प्युटर विषय पढाई भएपनि विद्यार्थीहरुले भने कम्प्युटर नै देख्न नपाएको गुनासो गरेका छन् ।
नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालदेखि कक्षा ६ बाट कम्प्युटर शिक्षा सुरु गरेको हो ।
कक्षा ६ देखि ८ सम्म अनिवार्य र ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा भनिए पनि विद्यार्थीहरुले अहिलेसम्म कम्प्युटर देख्न नपाएको पलाँताका शिक्षा अधिकृत कलबहादुर भण्डारीले बताउनुभयो ।
सरकारले विकासका पूर्वाधार विनानै विविध नीति बनाएका कारण विद्यार्थीहरुले समस्या भोग्नुपरेको विद्यार्थीहरुको गुनासो छ ।
गाउँपालिकाले भर्खरैमात्र निर्माण गरेका शिक्षा नियमावलीमा समेत कम्प्युटर शिक्षाबारे कुनै कुरा उल्लेख गरिएको छैन ।