पंखबहादुर शाही ।
सुर्खेत, ९ भदौ (जागरण) । नयाँ आर्थिक वर्षमा कार्यन्वयन गर्ने योजनाहरुको कार्यविधि नबन्दा कर्णाली प्रदेश सरकारका काम अघि बढ्न सकेका छैनन् ।
बजेट संसदबाट पास भएको दुई महिना पुग्दा समेत प्रदेश सरकारका सवै मन्त्रालयमा आफ्ना मन्त्रालयगत योजनाका कार्यविधि बनेका छैनन् ।
गत असार १० गते नै चालु आर्थिक बर्ष २०७६/०७७ को बजेट पास भइसकेको थियो । यति सम्म कि वजेट कार्यन्वयनको अख्तियारी पनि कुनै मन्त्रालयमा पुगेको छैन ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत बखतबहादुर खड्काले अख्तियारी नआएकै कारण कुनै कार्य अघि नबढेको बताउनुभयो । अबको केहि हप्तामै अख्तियारी आएपछि सबै कार्यहरु अघि बढ्ने उहाँले बताउनुभएको छ ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी कृष्णबहादुर रोकायाले अहिले आफूहरु कार्यविधि निर्माणकै चरणमा रहेको बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट हुने कार्यहरु अवको केहि दिन पछिदेखि नै सुरु हुने उहाँले बताउनुभयो ।