सबैको साथ पाए अँझै उत्कृष्ट बन्ने प्रतिवद्धता

सुर्खेत, २० वैशाख (जागरण) । शैक्षिक गुणस्तर सुधार गर्नका लागि लागि निती मात्र नभई शिक्षक विद्यार्थीको मिहेनत पनि आवश्यक पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
सहारा क्याम्पस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रममा बोल्ने शिक्षकहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै पुर्व क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले मिहेनत गरेपछि असम्भव केही नभएको बताउँदै शैक्षिक सफलता प्राप्त गर्न कडा परिश्रम गर्नुपर्ने औँल्याउनुभयो ।
क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष ओमप्रकाश सुवेदीले क्याम्पसको भौतिक सुधार गर्नका निम्ती लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
१३ जना विद्यार्थीबाट पढाउन शुरु गरेको क्याम्पसले आफ्नो शैक्षिक गुणस्तर माथि उठाउन सफल भएकोमा खुसी पनि व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा यो सफलतालाई कायम राख्न चुनौति पनि भएको बताउनुभयो ।
क्याम्पस प्रमुख छविलाल आचार्यले सबैको सहयोग, निर्देशन अनि विद्यार्थीको मिहेनतले क्याम्पसले यो सफलता प्राप्त गरेको बताउनुभयो ।
विदाई भएर जानेहरुको उज्वल भविष्यको कामना गर्दै उहाँले विद्यालयले सधैँ गौरव गर्ने गरी काम गर्न सुझाव दिनुभयो ।
क्याम्पसका शिक्षक प्रेमबहादुर थापाले क्याम्पसको उत्कृष्टता देशभर फैलाउनका लागि सबैको साथ र सहयोगको खाँचो औँल्याउनुभयो ।

विद्यार्थीलाई बधाई र विदाई
यसैबिच, सोही कार्यक्रमका अवसरमा त्रिभुवन विश्वविद्यालयबाट लिईएको बिबीएस प्रथम वर्षको परिक्षामा कर्णाली प्रदेश र सात नम्बर प्रदेशमै प्रथम स्थान हाँसील गर्न सफल विद्यार्थी जगत कँडेल, द्वितीय हुने अर्विन्द्र ठाकुर र अन्जु रेग्मीलाई पुरस्कारसहित बधाई ज्ञापन गरिएको थियो ।
साथै क्याम्पसको दोश्रो वर्षको आन्तरिक परिक्षामा सफल हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिनुका साथै बिबीएस चौथो वर्षका विद्यार्थीहरुलाई विदाई पनि गरिएको छ ।