सुर्खेत, १५ भदौ (जागरण) । सुर्खेतमा गाईको हत्या गर्नेलाई कार्वाहीको माग राख्दै प्रदर्शन गरिएको छ । नेपालगञ्जबाट दैलेखको पठाएका भनिएका गाई सुर्खेतको वीरेन्द्रनगरका विभिन्न ठाउँमा भिरबाट खसाएर मारिएको विरोधमा प्रदर्शन गरिएको हो ।
दैलेख कटकुवा, सुब्बाकुना र भैरी नजिकै ३४ वटा गाईगोरु मरेको अवस्थामा भेटिएपछि कार्वाहीको माग राख्दै प्रदर्शन गरिएको हो ।
सुर्खेतको मंगलगढी चौकबाट निकालिएको ¥याली वीरेन्द्रचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्ने अधिकांसले रातारात नेपालगञ्जका गाईगोरु सुर्खेत हुँदै दैलेख लैजानुको कारण सार्वजनिक गर्न माग गरेका छन् ।
इलेक्ट्रोनिक्स वस्तुगत समिति सुर्खेतका अध्यक्ष भुवन ज्ञवालीले दर्जन बढी गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानबिनको माग गर्नुभएको छ ।
उहाँले घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहन सक्ने भन्दै निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो ।
यसैबीच, सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र बनाइएका एकसय ६७ गाइगोरु नेपालगञ्ज फिर्ता गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
नगरपालिका विपत व्यवस्थापन समितिका सचिव प्रकाश पौडेलले मरेका ३४ गाईको व्प्यवस्थापन गरिएको भन्दै अलपत्र गाई फिर्ता गरिएको बताउनुभयो ।
गाईगोरु ल्याउने पाँच ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक (डिएसपी) रबी रावलले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले २ सय ९१ गाईगोरु दैलेख पठाउने भन्दै सुर्खेततिर पठाएको कागज भेटिएको थियो ।
उता, दैलेख पठाइएका सयौँ गाईगोरु भीरबाट खसालेर मारेको भन्दै चौतर्फी आचालोचना भइरहेको छ ।
यस्तै, सुर्खेतमा मरेका पशुचौपायका बारेमा दैलेखका तीन वटा स्थानीय तहले आफूहरूलाई यो विषयमा नेपालगंज उपमहानगरपालिकाले कुनै पनि समन्वय नगरेको बताएका छन् ।
यता, गाई मरको विषयलाई लिएर गृह मन्त्रालयले छानबिन गर्ने भएको छ । गृह मन्त्रालयले विज्ञप्ती जारी गरी छानबिनका लागि मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।