काठमाडौँ, १५ भदौ (जागरण) । नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जीवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौती थपेको भन्दै संवेदनशील हुन संचारक्षेत्रलाई आग्रह गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दै गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सुचनाले भ्रम श्रृजना गराउने काम भइरहेको बताउनुभएको हो ।
सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उहाँले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपुर्ण रहेको बताउनुभएको छ ।