खड्क सुनार ।
मुगु, १८ भदौ (रेडियो सौर्यदय) । मुगुका सहायक प्रमुख जिल्ला अधिकारीले नै विभिन्न फर्जि विल पेश गरी नगरपालिकाबाट रकम लिएको खुलासा भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले कर्मचारी व्यवस्थापनको सिलशिलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जाँदा आउदा हवाई खर्चमा लागेको टिकटको वास्तविक रकम भन्दा बढि पेश गरेको पाईएको हो ।
आज छायाँनाथ रारा नगरपालिकाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सहायक प्रमुख जिल्ला अधिकारी ढकालले २०७६ बैशाख ३१ गते नगरपालिकामा पेश गरेका टिकट फर्जि देखिएका हुन् ।
ढकालले नेपालगञ्ज देखि काठमाण्डौ बुद्ध एयरको जहाँजमा २०७५ चैत्र २१ गते जाँदा बास्तविक रकम ४ हजार ५ सय तिरे पनि नगरपालिकामा ७ हजार ३ सय र २०७६ बैशाख ७ गते काठमाण्डौंबाट नेपालगञ्ज फर्किदा श्रीएयरमा उहाँले ७ हजार ३ सय नै वास्तविक टिकटको शुल्क तिरे पनि नगरपालिकामा ८ हजार ८ सय तिरेको फर्जि टिकट पेश गरी भ्रमण भत्ता सहित ३९ हजार १ सय ७० रुपैयाँ २०७६ असार २३ गते भुक्तानी लिएको पाइएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
जिल्लामा गाडी मर्मत गर्ने गाडीका पार्टपुर्जा पाइने वर्कसप अहिले सम्म नभए पनि सहायक प्रमुख जिल्ला अधिकारी ढकालले नगरपालिकामा २ लाख २९ हजार २ सय ७७ रुपैयाँको विल पेश गरेको नगर प्रमुख शाहीले बताउनुभएको छ ।