युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउन नया रणनीति बनाउदै कर्णाली प्रदेश

पंखबहादुर शाही
सुर्खेत, २२ भदौ (जागरण)  । कर्णाली प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउन नयाँ कार्यक्रमहरु ल्याएको बताएको छ ।
कर्णाली रैबारसँग कुरा गर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन नयाँ नयाँ कार्यक्रम ल्याइएको बताउनुभएको हो ।उहाँले कृषि पेशालाई मर्यादित बनाउन ‘मेरो किसान मेरो अन्नदाता’, ‘नमुना कृषि गाउँ’, लगाएतका कार्यक्रम कृषि क्षेत्रको विकासको लागि बनाइएको बताउनुभयो ।

मन्त्री केसीले यी कार्यक्रमको शुरुवात गर्न कार्यविधि बनाउन लागिएको भन्दै अब कृषि क्षेत्रबाट नै युवाहरुलाई रोजगारी दिइने बताउनुभयो । व्यवसायीक कृषलाई अनुदानको व्यवस्था गरिने बताउदै उहाले विगतकोभन्दा कार्यक्रम प्रभावकारी बनाइने मन्त्री केसीले बताउनुभयो । कृषले गरेको काम र प्रतिफलका आधारमा प्रोत्साहन भत्ताको पनि व्यवस्था गर्न लागिएको भन्दै अब कृषि क्रान्ति यही प्रदेशबाट हुने दाबी गर्नुभयो । उहाँले विगतका बर्षहरुमा कृषि क्षेत्रमा गरिएको अपेक्षाअनुसारको प्रतिफल प्राप्त नभएको स्वीकार गर्नुभएको छ ।
यो बर्ष विषेश दलित ,अति विपन्न ,विपन्न लक्षित कृषकहरुलाई समेट्ने खालबाट ४० ओटा ‘‘नमुना कृषि गाउँ’’ कार्यक्रमहरु अघि बढाउन लागिएको मन्त्री केसीकाे भनार्इ छ । जसका  लागि ४०/४० लाख बजेट खर्चिने गरी कार्यविधि बनाउन लागिएको छ ,उहाँले भन्नुभयाे ।