बुुद्धिमान पुन
सल्यान, २३ भदौ (रेडयो राप्ती) । बिगत एक महिना यता भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।
ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जिउ दुख्नेलगायतका लक्षण भएका बिरामी उपचारका लागी पुग्ने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अर्जुन बुढा मगरले बताउनुभयो ।
उहाँका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा बिरामीको सङ्ख्या बढ्न थालेको हो । मौसम परिर्वतन, दुषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको उहाँले बताउनुभएको छ ।
उहाँका अनुसार अस्पतालमा दैनिक २ सय जनाको हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको सङ्ख्या बढी रहेका छ ।
यता, भाइरल ज्वरो र रुघाखोकीले सुर्खेतको बराहताल गाउँपालिकाको एउटा गाउँभरका नागरिक थला परेका छन् । बराहताल गाउँपालिकाको चेपाङका नागरिकहरु ज्वरोले थला परेका हुन् ।
करिव ४ सय घरधुरी रहेको चेपाङमा दुई हप्तादेखि भाइरल ज्वरोको संक्रमण फैलिएको छ । उपचार र औषधि नहुँदा अहिले गाउँका अधिकांश व्यक्ती थलिएका छन् ।
अधिकांश नागरिक बिरामी भएपछि उनीहरूलाई उपचारका लागि बड्डिचौर र वीरेन्द्रनगर ल्याउन थालिएको छ ।
गाउँमा यातायातको पहुँच नभएकाले स्ट्रेचरमा बोकेर बिरामी अस्पतालसम्म पु¥याउनुपर्दा झनै समस्या भएको त्यहाँबाट युवराज वलीले बताउनुभएको छ ।
जिल्ला अस्पताल सल्यानमा पनि उपचारका लागि पुग्ने बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखा परेको छ । दैनिक उपचारका लागि पुग्ने ३० देखी ४० जना बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखा परेको हो ।