कर्णालीका बालबालिकाबारे राष्ट्रिय वहस गर्न चार जना छानिए

सुर्खेत, २५ भदौ (जागरण) । कर्णाली प्रदेशका बालबालिकाको अधिकार र अवस्थाका विषयमा राष्ट्रिय स्तरमा वहस गर्न चार जना बालबालिका काठमाण्डौँ जाने भएका छन् ।
बालबालिकाको अधिकार, शिक्षा तथा अन्य समसामयिक विषयवस्तुमा छलफल गर्न कर्णाली प्रदेशबाट सुर्खेतकी दुर्गा कठायत, दैलेखकी विनु गुरुङ, रोहित कुमार पहाडी र मिलन मल्ल काठमाण्डौँ जाने भएका हुन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २८ र २९ गते हुने कार्यक्रमका लागि पर्सी भदौ २६ गते बालबालिकाहरु काठमाण्डौँ तर्फ जानेछन् । हरेक प्रदेशबाट चार चार जनाका दरले बालबालिकाहरुले प्रदेशका सवालमा वहस गर्नेछन् ।
बालबालिकाहरुले भदौ २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बालबालिकाहरुको क्षेत्रमा क्रियाशिल संस्थाहरुको सञ्जाल कन्सल्टियम नेपालले जानकारी दिएको छ ।
सेभ द चिल्ड्रेन, कन्सल्टियम नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको समन्वय तथा सहकार्य, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुर्खेतमा गरेको भेलाबाट चार जना बालबालिका छनोट भएका हुन् ।
बालबालिकाहरुले आफूहरुले भोगेका समस्या र सवालमा छलफल गरी आफ्ना कुरा उठान् गर्नका लागि आफ्ना प्रतिनिधिको रुपमा बालबालिकालाई छनोट गरेका छन् ।