एक सय बत्तिस केभिए विजुली प्रशारण लाइनको प्रक्रिया शुरु

सुर्खेत, २५ भदौ (जागरण) । वर्षौदेखि चर्चामा रहेको एक सय ३२ केभीएको कोहलपुर–सुर्खेत–दैलेख विद्युत प्रसारण लाइनको काम अघि बढ्ने भएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएसँगै टेण्डरको आव्हान गरिएको उर्जा मन्त्रालयले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारे सँगै त्यहि प्रतिवेदनका आधारमा बाँकेको कोहलपुर सव–स्टेशनबाट प्रारम्भ भइ सुर्खेतको वीरेन्द्रनगरस्थित प्रस्तावित सुर्खेत सव–स्टेशनमा आएर टुङ्गिने छ ।
आयोजनाले बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगंगा, लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिकासहित कर्णालीका अन्य स्थानीय तहका नागरिकहरु लाभाम्वित हुने छन् ।
अहिलेसम्म कर्णालीका अधिकांस स्थानीय तहमा विद्युत सेवा पुग्न सकेको छैन । १ सय ३२ केभीए विद्युत प्रसारण लाइन विस्तार भए कर्णालीका धेरै स्थानीय तहहरुमा विद्युत सेवा विस्तार हुने छ ।
यसबाट कर्णालीका विद्युत सेवा नपुगेका ठाउँहरुमा उद्योगहरु संचालन गर्न सहयोगी सावित हुने अपेक्षा लिइएको छ । २०४५ सालमा विस्तार गरिएको कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन कर्णालीलाई अपर्याप्त छ । यो प्रसारण लाइन आयोजनाको लम्बाई करिब ५१ किलोमिटर हुनेछ भने डबल सर्किटको हुने छ ।