कर्णालीमा लगानी गर्नुहोस्, सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छः मुख्यमन्त्री शाही

काठमाडौँ, २६ भदौ (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीमा लगानीका लागि सबै कानुनी जटिलताको सामाधान गरिने बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघको आयोजनामा आज संघिय राजधानी काठमाडौँमा भएको नेपाल पुर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारसँग समन्वय गर्दै कानुनी तथा संवैधानिक जटिलताको सामाधान गर्ने वताउनुभएको हो ।
कर्णालीमा जलविद्युत, कृषि, पर्यटन, पुर्वाधार तथा उद्योगका क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने वताउदै उहाले ढुक्कले लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।
लगानी सुरक्षाको ग्यारेन्टी दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीमा नीजि क्षेत्रको लगानी भित्रिनेमा विश्वास व्यक्त गर्नुभयो ।
अधिकाँश हिमाली क्षेत्र, सबैभन्दा लामो कर्णाली नदी, रारा, शेफोक्सुण्डो, तथा मनमोहक जंगली पाटन सहितको कर्णाली प्रदेशमा पर्यटन विकासको राम्रो संभावना रहेको उहाँको भनाई छ ।
पुर्वाधार विकासमा पनि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउदै मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरमा द्रुतमार्ग, सुर्खेतमा अन्तराष्ट्रिय विमानस्थल, जलविद्युत उत्पादन तथा चार सय केभिएको विद्युत प्रशारण लाईन विस्तारमा पनि नीजि क्षेत्रले लगानी गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले कर्णालीमा रहेका ठुला ठुला चरण क्षेत्र उपयोग गरि मासुजन्य तथा दुग्धजन्य पशुपालन, माछापालन, औषधिय गुण सहितको अर्गानिक अन्न तथा फलफुल उत्पादका क्षेत्रमा नीजि क्षेत्रले लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्ने धारणा राख्नुभयो ।