नमुना गाउँका लागि अवलोकनमा प्रदेश सरकार, आँफर नमुना गाउँको कार्ययोजना सार्वजनिक

सुर्खेत, २६ भदौ (जागरण) । कर्णाली प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र–एक नमुना गाउँ’ बनाउने योजनाको कार्यन्वयन शुरु गरेको छ । एउटा प्रदेशसभा निर्वाचन क्षेत्रको एउटा गाउँलाई नमुनाको रुपमा घोषणा गर्नेगरी योजना बनाएको प्रदेश सरकार अहिले गाउँहरुको अवलोकनमा जुटेको छ ।
जसअन्तर्गत सुर्खेतको पहिलो नमुना गाउँको रुपमा घोषणा गरिएको वीरेन्द्रनगर नगरपालिका १३ स्थित ‘आँफर नमुना गाउँ’को सरकारकी प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अवलोकन गर्नुभएको छ ।
उहाँले आँफर गाउँ अवलोकनसँगै अव प्रदेशभर ४० निर्वाचन क्षेत्रमा ४० नमुना गाउँ बनाउने योजनाको कार्यन्वयन शुरु भएको समेत बताउनुभएको छ ।

कुन जातको हो ?- आँफर गाउँको माछापोखरी अवलोकन गर्दै मन्त्री केसी, प्रदेशसभा साँसद पद्मा खड्का सहितको टोली । मन्त्री केसीले फूल खेती, कुखुरापालन फारमसहित अन्य कृषि फारमहरुको पनि अवलोकन गर्नुभएको छ ।

साथै नमुना बनाउनैपर्ने विपन्न, गरिव, दलित तथा जनजाति, उत्पिडित वर्गको बसोबास गरेका गाउँहरुलाई नमुना बनाउने स्पष्ट योजना ल्याउन सम्वन्धित प्रदेशसभा साँसदसँग आफूहरुले माग गरेको मन्त्री केसीले बताउनुभयो ।
केही वर्ष पहिला नराम्रो रुपमा हेरिएको तर अहिले नमुना बनेको आँफर गाउँमा रहेका होमस्टे, कृषि, पशुपालन तथा सहकारी सञ्चालनबारे अध्ययन गरिसकेपछि मन्त्री केसीले खुसी व्यक्त गर्नुभयो । यसअघि नै नमुना बनिसकेकालाई थप व्यवस्थित गर्ने र केही नयाँ नमुना गाउँ बनाउने बताउँदै मन्त्री केसीले प्रदेश सरकारको वजेटपछि आँफर गाउँ नमुना गाउँहरुमध्ये पनि नमुना बन्नसक्ने बताउनुभयो ।

वाह ! क्या मिठोः आँफर गाउँको होमस्टेमा स्वागतस्वरुप दिइएको स्थानिय जातको मकै खाँदै मन्त्री केसी, प्रदेशसभा साँसद् पद्मा खड्का, स्याक नेपालका सल्लाहकार पूर्ण प्रसाद पौड्याल लगायत ।

सुन्नुहोस् मन्त्री केसीको कुराः

मन्त्री केसीसामू आँफर नमुना गाउँ सञ्चालन समितिका पदाधिकारी तथा सदस्यहरुले पहिलाको अवस्था र अहिलेको परिवर्तनबारे जानकारी गराएका छन् । विकृती, विसंगती र अभावै अभावमा रहेको आँफर गाउँलाई समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा नमुना बनाएको र अहिले गाउँको परिचय नै फेरिएको आँफरका नागरिकहरुले बताएका छन् ।

यसरी भयो आँफर नमुनाः गाउँलाई नमूना बनाउँदाका अनुभव र परिवर्तनबारे बताउँदै आँफर गाउँका नागरिकहरु ।

आँफर गाउँ अवलोकनमा प्रदेशसभा सदस्य पद्मा खड्का, वडानम्वर १३ का वडा अध्यक्ष, स्याक नेपालका सल्लाहकार पूर्ण प्रसाद पौड्याल, कार्यकारी निर्देशक टिकाराम आचार्य लगायतको पनि सहभागिता थियो ।

यसैबीच, ६० घर रहेको आँफर गाउँको सञ्चालक समितिले आगामी कार्ययोजना सार्वजनिक गरेको छ । जसअन्तर्गत अहिले १६ घरमा सञ्चालित होमस्टे ६० घरमा विस्तार गर्ने, १५ घरमा व्यवसायिक बाख्रा पालन, पाँच घरमा व्यवसायिक भैँसीपालन, तीन घरमा लोकल कुखुरा पालन, १५ घरमा अर्गानिक तरकारी खेती गरिने छ ।
यस्तै दुई घरमा च्याउ खेती, एक घरमा तरकारी संकलन केन्द्र, एक घरमा दुध संकलन केन्द्र, एक घरमा व्यवसायिक फूल खेती, एक घरमा स्थानिय उत्पादनको कोशेली गृह, एक घरमा सिलाई सेन्टर, एक घरमा पुराना तामा काँसको निर्माण तथा विक्री केन्द्र, एक घरमा फ्रेस हाउस, एक घरमा ब्रोइलर कुखुरा पालन, एक घरमा माछापालन, एक घरमा फर्निचर, एक घरमा ग्यारेज, एक घरमा केश सुधार गृह र एक घरमा श्रृङ्गार सेन्टर सञ्चालन गरिने आँफर गाउँ सञ्चालक समितिले जनाएको छ ।

हामी सँगै छौँः आँफर गाउँका नागरिक, मन्त्री केसी र सरोकारवालाको संयुक्त फोटो ।