टेकराज केसी ।
दैलेख, २० वैशाख (जागरण) । दैलेखको गुराँस गाउँपालिकाका युवाहरुले आफुहरु स्वदेशमै बसेर काम गर्न तयार रहेको बताएका छन् । गुराँस गाउँपालिकाले आयोजना गरेको वेरोजगार युवाहरुको रोजगार तथा स्वरोजगार मेलामा सहभागि भएका युवाहरुले यस्तो बताएका हुन् ।
आफुहरुलाई स्वदेशमा केहि गर्न सकिदैन कि भन्ने लाग्ने गरेको भन्दै मेलामा सहभागि भएपछि उत्साह जागेको बताएका छन् । मेलामा सहभागि भएका वडा नम्बर ७ का युवा भक्त बहादुर विसीले आफुहरु उत्साहित भएको भन्दै अब गाउँमै बसेर आत्मनिर्भर हुनका उत्साह जागेको बताउनुभयो ।
अर्का सहभागि वडा नम्बर ८ का कर्ण बहादुर ओलीले आफु अव स्वरोजगार हुन सक्छु भन्ने आत्मविश्वास बढेको बताउनुभयो । अव वेरोजगार युवाहरुलाई खाडी मुलुकमा गएर दुःख गर्न नपर्ने अनुभूती भएको मेलामा सहभागि वडा नम्बर ८ की याम कुमारी खड्काले मेलाको प्रतिक्रिया दिनुभयो ।
उहाँले अव आफ्नै गाउँमा केहि गर्न सकिने भन्दै त्यसको लागि गाउँपालिकाले लिएको निति प्रसंशा योग्य रहेको औल्याउनुभयो ।अव युवाहरु स्वरोजगारमुखी काममा अग्रसर हुनुपर्छ । वडा नम्बर ६ का राम बहादुर ओलीले भन्नुभयो, ‘मेलाले नेपालभर रोजगारीका अवसरको सृजना भएको भन्ने सन्देश प्रवाह भएको छ ।’
स्वदेशमा कामको सृजना हुन थालेको जस्तो अनुभुति भएको वडा नम्बर ७ की पम्फा विसीले बताउनुभयो । वडा नम्बर ८ की अमृता विसीले युवाहरु बाहिर जानुपर्ने अवस्था कम हुने विश्वास व्यक्त गर्नुभयो । मेलामा सहभागि वडा नम्बर ८ का श्याम बहादुर ओली, अम्मर खड्कालगायतका युवाहरुले गाउँपालिकाले रोजगार मेला आयोजना गरी युवाहरुलाई उत्साहित बनाएकोमा धन्यवाद दिएका छन् ।
वेरोजगार युवाहरुको स्वरोजगार मेलाको उद्घाटन समारोहमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालभित्र गाउँपालिकामा कामको अभावमा कोहि पनि युवाहरु बस्न नपर्ने बताएका छन् । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले अहिले युवाहरु वैदेशिक रोजगारको लागि खाडी मुलुक जानुपरेको भन्दै अव गाउँमै काम गर्ने वातावरण सृजना गरिने बताउनुभयो । उहाँले हरेक युवालाई स्वरोजगार बनाउनको लागि नै गाउँपालिकाले रोजगार मेला आयोजना गरेको बताउनुभयो ।
स्वरोजगार विभिन्न उद्यमशिलताको काम गर्न युवाहरुलाई आग्रह गर्दैै ओलीले आफ्नो कार्यकालभित्र गाउँपालिकामा कुनैपनि युवा वेरोजगार बस्न नपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न रोजगारदाता संघ सस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी तथा कम्पनीमा कार्यरत व्यक्तीहरुको सहभागिता थियो । पहिलो मेला गुराँस गाउँपालिका वडा नम्बर ८ धरमपोखरामा भएको हो ।
मेलामा वडा नम्बर ६, ७ र ८ का ६ सय ४१ जनाले फारम भरेका छन् । फारममा आफु के काम गर्न सक्षम छु ? योग्यता कति हो ? वेरोजगार बस्नुको कारण के हो ? लगायतका कुराहरु समावेश गरिएको छ ।
दोस्रो मेला पातिकाल्नामा गरिएको छ, भने भोली वडा नम्बर ४ घोडाबासमा हुनेछ । गाउँपालिकाले हरेक युवाहरुलाई स्वरोजगार बनाउन नितिगत रुपमै कृषि, पशुपालन, उद्योग लगायतका क्षेत्रमा सिप विकास गर्न युवाहरुलाई विभिन्न तालिम समेत दिन शुरु गरेको हो । मेला रोजगार सुचना केन्द्र नेपालगंजको प्राविधिक सहयोग तथा सेभ द चिल्ड्रेन र एभरेष्ट क्लवको समन्वयमा संचालन भएको हो ।