सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतमा पहिलो पटक दुई सहकारीहरुबीच एकीकरण हुने भएको छ । समान उद्देश्य बोकेका सहकारीहरुबीच एकीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बीच एकीकरण हुने भएको हो ।
हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष सावित्रा पौडेल (सुवेदी) ले सरकारको नयाँ नीति सार्वजनिक भएको र दुवै सहकारी समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा सञ्चालन भएकाले एकीकरणको निष्कर्षमा पुगिएको बताउनुभयो ।
हातेमालोकी संस्थापक अध्यक्ष शोभा तिवारीले दुवै सहकारीको साधारणसभा सकिएलगत्तै तिहारभन्दा पहिला एकता भइसक्ने बताउनुभयो ।
सरकारले नीति ल्याएर त्यसलाई कार्यन्वयन गर्न घच्घच्याउनैपर्ने भन्दा पनि आफै जागरुक हुनुपर्ने भएकाले आफूहरु एकीकरणको निष्कर्षमा पुगेको जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पुर्ण प्रसाद पौड्यालले बताउनुभएको छ ।
उहाँले उद्देश्य, विचार र सोच मिल्ने भएकाले हातेमालोसँग हातेमालो गरको बताउँदै एकीकरण गर्ने चाहना भए आउन अन्य सहकारीहरुलाई आव्हान पनि गर्नुभयो । जागरण र हातेमालोबीच एकीकरण हुने भएपछि अन्य सरोकारवालाहरुले पनि खुसी व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिका सहकारी शाखा प्रमुख निर्मला भट्टराईले एकीकरण गर्ने अभ्यास पहिलो र उदाहरणिय रहेको बताउनुभयो ।
यसैगरी जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतकुमार विसीले धेरै संख्यामा सहकारीहरु सञ्चालन गरेर मात्रै सहकारी अभियान शुरु गर्ने बेला लिइएको लक्ष्य पुरा हुन नसकिने भएकाले एकीकरणको अभ्यास राम्रो भएको बताउनुभयो ।
संस्थागत विकासअन्तर्गत ठाउँठाउँमा सहकारीहरु गठन तथा सञ्चालनमा सहजिकरण गरिरहेको समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले अव संख्यात्मक रुपमा बढाउनेभन्दा पनि गुणात्मक काम गर्नेगरी सहकारीहरुबीच एकीकरण गर्ने अभियान सञ्चालन हुनुपर्ने बताउनुभयो । जागरण र हातेमालोबीचको एकीकरणको कामप्रति आफू खुसी रहेकोसमेत बताउनुभएको छ ।
सरकारले देशभर रहेका करिव ३६ हजार सहकारीलाई ५ हजारको संख्यामा झार्नेगरी नयाँ नीति लिएको छ । सरकारले समान उद्देश्य बोकेका एउटाभन्दा धेरै सहकारीमा एउटै व्यक्ती संलग्न हुने हुँदा आशातित् उपलव्धी हाँसिल हुन नसक्ने विश्लेषण गरेको छ ।
यसैबीच, आज भएको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उन्नाइसौँ वार्षिक साधारणसभामा विभिन्न व्यवसायमूलक कार्यक्रम सञ्चालनका लागि आधार तयार गरिसकिएको र अव अघि बढाइने सचिव रमा कँडेल (भण्डारी) ले बताउनुभएको छ ।
साथै सहकारीले होजियारी, कृर्षि, सिलाइकटाई, खुद्रा व्यापार, व्युटीपार्लर, छात्राबास, फेन्सी पसल, दुना टपरी उद्योग, सर्वोत्तम पिठो उत्पादन गर्ने आगामी योजना बनाएको उहाँले बताउनुभयो ।
साधारणसभामा कोषाध्यक्ष चन्द्राकुमारी भट्टराईले गत आर्थिक वर्षमा सहकारीले एक करोड ३५ लाख २९ हजार तीन सय ३९ रुपैयाँ बराबरको कारोबार गरेको प्रतिवेदन पेश गर्नुभएको छ ।
साधारणसभाको अवसरमा ज्येष्ठ सदस्य डिलमाया श्रेष्ठ, नियमीत बचतकर्ताको रुपमा मायादेवी सुनार, असर ऋणीको रुपमा पूर्णाकुमारी बुढाक्षेत्रीलाई सम्मान प्रदान गरिएको छ । यस्तै माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उतिर्ण हुने श्रद्धा घर्तिमगरलाई पुरस्कृत गरिएको छ । श्रद्धा हातेमालोकी शेयर सदस्य भुमिका तारामीको छोरी हुनुहुन्छ ।