पंख बहादुर शाही
सुर्खेत, ३० (जागरण) । कर्णाली प्रदेशमा बालश्रमको दर उच्च रहेको पाइएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको तथ्याङ्कअनुसार विशेषगरी १५ बर्षमुनिका ६७ प्रतिशत बालबाालिका कुनै न कुनै श्रम शोषणमा परेका हुन् ।
२४ प्रतिशत बालबालिकाहरु आर्थिक गतिविधिमा र ४३ प्रतिशत बालबालिकाहरु अन्य काममा संलग्न रहेको मन्त्रालयका बालअधिकार अधिकृत डम्बर रोकायले बताउनुभयो । उहाले सडक बालाबालिका, बालबिबाह पनि उत्तीकै रहेको भन्दै यसको निराकण हुन जरुरी रहेको बताउनुभयो ।
विशेषगरी कर्णालीका बालबालिका काम गर्नको लागि भारत लगायतका मुलुकहरुमा जाने र त्यही श्रममा पर्ने गरेको रोकायले कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै, कर्णाली प्रदेशमा अझै पनि करिब ६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सामाजिक विकास मन्त्रालयसँग छ ।
कर्णालीका बिभिन्न जिल्लामा विद्यालय बाहिर रहेका बालबालिकाको संख्या करिब ३० हजार रहेको रोकायले बताउनुभयो ।
विद्यालय बाहिर रहनेमा कर्णाली प्रदेशको हिमाली जिल्लाका बालबालिका धेरै रहेको भन्दै उहाले मन्त्रालयले बालबालिकालाई विद्यालय ल्यान विभिन्न कार्यक्रमहरु संचालन गरिहरहेको बताउनुभयो ।
बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी नीकायहरुले बाल दिवस भन्दै आफुहरुले उल्लेख्य काम गरेको बताएपनि कर्णाली बालश्रम र बालबालिका माथी हुने हिंसाको अवस्था डरलाग्दो देखिएको हो ।
बालअधिकारको कुरा भाषणभन्दा व्यवहारमा लागु गर्न सरोकारवालाहरुले सुझाव दिन्छन ।
नेपालको संविधान २०७२ को धारा ३९ को (४) मा कुनैपनि बालबालिकालाई कलकारखाना लगायतका काममा लगाउन नपाइने भनि व्यवस्था गरिएको छ ।
यता, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षदेखि हिंसापीडित महिला तथा बालवालिकाको लागि आवास गृह निर्माण गर्ने भएको छ ।
क्रियाशिल पत्रकार महिला डब्लु डब्लु’ जेले आज वीरेन्द्रनगरमा आयोजना गरेको सन्डे क्लवमा बोल्दै उपप्रमुख ढकालले यस क्षेत्रका हिंसा प्रभावित महिला र सडक बालवालिकालाई सुरक्षित राख्नको लागि आवासगृहको निर्माणको काम अगाडी बढाइएको बताउनुभयो ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर १२ मा रहेको हस्तवीर सामुदायिक आधारभूत विद्यालयका विद्यार्थीहरुले खाना, छाना र नाना नभएकाहरुका लागि अन्न र नगद प्रदान गरेका छन् ।
विद्यार्थीहरुले संकलन गरेको एक क्वीन्टल चामल, ३५ किलो दाल र २ हजार चार सय ५० रुपैयाँ आज मानव सेवा आश्रम वीरेन्द्रनगर १२ लाई हस्तान्तरण गरिएको छ ।
बाल क्लवका नेतृत्वमा चलेको अभियानअन्तर्गत राष्ट्रिय बाल दिवसको अवसर पारी एक कार्यक्रमका बीच प्रदान गरिएको विद्यालयले जनाएको छ ।
बाल अधिकारमात्रै नभई बालबालिकाले आफ्नो कर्तव्यलाई पनि ख्याल गर्नुपर्ने भएकाले मानव सेवा आश्रममा सहयोग गरिएको बाल क्लवका अध्यक्ष रमेश बुढाले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौड्याल, समितिका अन्य सदस्यहरु, शिक्षक अभिभावक संघका प्रतिनिधि तथा शिक्षकहरुको समेत सहभागिता थियो ।
यसैबिच, राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेत खजुरामा रहेको मोर्निङ स्टार इन्टरनेष्नल बोर्डिङ स्कुलले सुर्खेतका बाढि प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयमा गठन भएको मोर्निङ स्टार चिल्ड्रेन हेल्पिङ हेन्ड क्लवको आयोजनामा बाल दिवसको अवसर पारी १६ घरधु्रीका ४२ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बालबालिकाको पढाइमा सहयोग पुग्नेगरी कापीकलम र स्वास्थ्यमा ध्यान राख्दै साबुन, तुतपेष्ट, ब्रस लगायका सामग्री वितरण गरिएको विद्यालयका शिक्षक चन्द्र मोहन घर्ती मगरले जानकारी दिनुभयो ।