जाजरकोट, २० वैशाख (जागरण) । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एक स्वास्थ्यकर्मी ११ वर्षदेखि कार्यालयमा हाँजिर नहुँदा पनि जागिर कायमै रहेको पाईएको छ ।
अस्पतालमा कार्यरत छैटौं तहका स्वास्थ्य सहायक धनिकलाल यादवको जागिर सुरक्षित रहेको पाईएको हो ।
यादव २०६४ देखि सम्पर्क्विहीन छन् । उनी कहाँ छन् भन्नेबारे अस्पताल प्रशासन पनि वेखबर रहेको छ तर उनी कार्यरत दरबन्दी उनकै नाममा ‘होल्ड’ रहेको छ ।
स्वास्थ्य सेवा ऐन र नियमावली अनुसार ९० दिनसम्म विनासूचना कार्यालयमा अनुपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश दिने प्रावधान छ ।
उनलाई कारवाहीका लागि सम्बन्धित निकायमा पटकपटक लिखित पत्राचार गरे पनि कार्यान्वयन नभएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेका अनुसार पाउने सबै विदा यादवले सकिसकेका छन् । यो अवधिमा उनले कार्यालयबाट तलब समेत लिएका छैनन् । उनले पेन्सन लगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर जोगाएर बसेको पाईएको छ ।
लामो समय विना सुचना अनुपस्थित हुने स्वास्थ्य सहायक यादवलाई अवकाश गर्न सक्ने अधिकार स्वास्थ्य सेवा विभागलाई छ तर कानुनी झमेलाका कारण बर्खास्त नहुँदा उनको पद लामो समय देखि होल्ड भएर बसेको छ।