सल्यानमा एकै दिन दश विद्यालयमा पुस्तकालय स्थापना

शंकर के सी,
सल्यान, २९ भदौ
सल्यानमा पुस्तकालय स्थापना कार्यले तिब्रता पाएको छ ।
विभिन्न परियोजनाले स्थानीय तहहरुसंग साझेदारी गरेर सामुदायीक विद्यालयमा पुस्तकालय स्थापना कार्यलाई अगाडी बढाएका हुन् ।
कतीपय स्थानीय तहहरुले आफै पहल गरेर पुस्तकालय स्थापना गरेका छन् । शिक्षा नियमावली अनुसार पनि हरेक विद्यालयमा पुस्तकालय अनिवार्य हुनुपर्ने भएपछि र यसको महत्व बुझेपछि जिल्लामा पुस्तकालय स्थापना कार्यले तिब्रता पाएको हो ।
बाल दिवसको अवसरमा सल्यानमा आइतबार कुमाख गाउँपालिका र कपुरकोट गाउँपालिकामा पुस्तकालय उद्घाटन गरिएको छ ।
कपुरकोट, ५ स्थीत सिद्ध आधारभुत विद्यालय खालीमा पुस्तकालय स्थापना गरेर चार हजार चार सय ३१ पुस्तक राखिएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले पुस्तकालयको उद्घाटन गर्नुभयो ।
कपुरकोट गाउँपालिका र पढ्नका लागी कोठा (रुम टू रिड) कार्यक्रमको साझेदारीमा पुस्तकालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष द्रोण बहादुर केसीले बताउनुभयो ।
गाउँपालिकाले ६ लाख ५० हजार रुपैयााको लागतमा तीन हजार सात सय ९२ पुस्तकको ब्यवस्था गरेको छ भने रुम टू रिडले ६ सय ३९ पुस्तक सहित पुस्तकालयको ब्वयस्थापन गरेको उनले बताउनुभयो ।
पढ्नका लागि कोठा तथा रूमटुरिडको सहयोगमा जिल्लाको १० वटा विद्यालयमा आइतबार पुस्तकलय उद्घाटन गरिएको रूमटुरिडका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिनुभयो ।
सिद्ध अधारभुत विद्यालय कपुरकोट खाली सहित बालकल्याण मावि कोटबारा, बालकल्यान अधारभुत विद्यालय सिद्धकुमाख, जनविकास आधारभुत विद्यालय ओख्रेनी, त्रिभुवन जनता मावि मार्के, राधेश्याम मावि काँरागिठी, सरस्वती अधारभुत विद्यालय रानीपोखरी छत्रेश्वरी, लक्ष्मी मावि झिम्पे, लक्ष्मी मावि पोखरीडाँडा, र भवानी मावि छायानाथ लगायत स्थानमा पुस्तकालय उद्घाटन गरिएको हो ।
विद्यालय तहका बालबालिकाको पढ्ने अधिकारको सुनिश्चित गर्न तथा सानो उमेरमै पढ्ने सिप र बानीको विकास गर्न रूम टु रिडले दलित विकास समाजसंगको साझेदारीमा जिल्लाका ५४ विद्यालयमा पुस्तकालय अभियान सम्पन्न गरेको जनाएको छ ।
सिद्ध अधारभुत विद्यालय कपुरकोट खालीमा पुस्तकालय उद्घाटन गर्दै महासंघका अध्यक्ष भिम बहादुर सेनले पुस्तकालयमा नियमित विद्यार्थीलाइ पढ्ने वानी बसालेर पाठ्यपुस्तक वाहिरका विभिन्न ज्ञान प्रदान गर्नुपर्ने बताउनुभयो ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका उहाले पालिकाभित्रका सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नम्बर ५ का वडाध्यक्ष यम कुमार वस्नेत, रुम टू रिडका प्रतिनिधी विनायक रेग्मी, शिक्षा शाखा कपुरकोटका संयोजक कृष्ण भण्डारी, विद्यालयका प्रअ पदम खड्का लगाएतले पुस्तकालयको महत्वको बारे चर्चा गरेका थिए ।
यस्तै, वाल दिवस तथा अभिभावक भेलाको अवसरमा सल्यानमा बिभिन्न कार्यक्रमहरु गरिएको छ ।
कपुरकोट, ४ स्थीत नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरमा आयोजना गरिएको एथ्लेटिक्स, भलिवल र कपर्दि खेल प्रतियोगितामा प्रथम, द्धितृय तृतीय हुने छात्रछात्रालाइ पुरस्कृत गरिएको प्रधानाध्यापक सिट्टीसाप विष्टले बताउनुभयो ।